१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो चैते छठ




२५ चैत्र ०७८, महोत्तरी । आस्थाको महापर्व चैते छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । चार दिवसीय चैते छठ पर्वको आज तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, केरा, अदुवा, नरिवल, फलफूलसहित विभिन्न परिकारको अर्घ अर्पण गरी चैते छठ पर्व मनाइँदैछ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
सर्लाही सदरमुकाम मलङ्गवालगायत ग्रामीण क्षेत्रमासमेत चैते छठ मनाउनेको सङ्ख्या बढ्दै गएको छ । कात्तिक महिनामा मनाइने छठभन्दा चैते छठ मनाउनेको सङ्ख्या कम भए पनि विगतकोभन्दा यस वर्ष छठ मनाउनेको सङ्ख्या बढ्दै गएको हो ।
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठजति यो पर्व मनाउने भने देखिँदैनन् । पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोबलिएर अर्घ दिइन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ दिएर पर्व सम्पन्न गरिन्छ । छठ पर्व मान्नाले दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निकोे हुने र पारिवारिक सुख शान्ति हुने जनविश्वास छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।