
२७ चैत ०७८, काठमाडौं । नेपालका चार धाममध्येको एकधाम वैद्यनाथ क्षेत्र विकास संस्थाको गुरुयोजना निर्माण भएकोे छ । सेती लोकमार्गले छोएको धार्मिक तथा पर्यटकीयस्थल वैद्यनाथको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले बृहत्तर गुरुयोजना निर्माण भएको छ । साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा अल्फा ईन्जिनेरिङ कन्सल्टेन्सीले गुरुयोजना निर्माण गरेको छ । अल्फा ईन्जिनेरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडका डाइरेक्टर दानबहादुर रावलले गुरुयोजनाको प्रतिवेदन साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरलाई हस्तान्तरण गरे ।
गुरुयोजनामा वैद्यनाथ धाम क्षेत्रमा बर्सेनि हुँदै आएको कटान रोक्नलाई पहिलो प्राथमिकता दिएको छ । नदीको दायाँ वायाँ लुग्रेली गाडमा पक्की तटबन्धलाई गुरुयोजनामा समेटिएको छ । वैद्यनाथ क्षेत्र विकास संस्थाकोे गुरुयोजनामा तीन तले अतिथि भवन, चार तले सन्त आवास भवन, दुई तले पिर भवनको संरचना निर्माण रहेको छ।गुरुयोजनमा कार्यालयको चार तले भवन निर्माण गर्ने उल्लेख गरिएको छ । उक्त चार तले भवनमा वैद्यनाथ क्षेत्र विकास समितिको कार्यालय, वैद्यनाथ धार्मिक पर्यटन विकास व्यवस्थापन समिति, गुठी कार्यालय र ध्यान कोठा रहने नगर प्रमुख कुँवरले जानकारी दिए ।
गुरुयोजनामा वैद्यनाथ क्षेत्रमा १५० जना जना अट्ने सभागृह, अछामी नौमुठे गाईको संरक्षणको २० वटा गाई अट्ने गाई गोठको निर्माण, सार्वजनिक मञ्च, तीन तले होमेस्टे भवनको नमूना नक्सा, सडक निर्माणलाई समेटिएको छ । अहिले वैद्यनाथ धामको प्रांगणमा सौर्य बत्ती, प्रांगणको बीच भागमा मञ्च, भित्र चार ढोका भएको वैद्यनाथको मन्दिर, मन्दिर वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरू छन् ।
यस्तै दुई तले संग्राहलय भवन निर्माणधीन, पार्कको निर्माण कार्य सुरुवात, अतिथि भवनको निर्माण कार्य सम्पन्न, ज्येष्ठ नागरिकको लागि वृद्धआश्रम निर्माण कार्यको सुरुवात भएको छ । धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको वैद्यनाथलाई ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाअनुसार गुरुयोजना निर्माण गरिएको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए । उनले यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई चिनाउनको लागि गुरुयोजना निर्माण गरिएको बताए ।







प्रतिक्रिया