९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजदेखि खोटाङमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु



२९ चैत ०७८, काठमाडौँ । खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजारभन्दा बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने अभियान सुरु गरिएको छ । मंगलबारदेखि आगामी ४ वैसाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी) खोप दिनेगरी अभियान सुरु गरिएको हो ।

मंगलबार दिक्तेलको माउण्ट एभरेष्ट बोर्डिङ स्कुल खोप केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रताप शाहले स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै खोप अभियान सुरु गरिएको हो । १५ महिनादेखि २३ महिनासम्मका दुई हजार ९८९ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रमअन्तर्गत जिल्लामा खोप अभियान थालिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका क्रममा एक हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालन गरिएको छ ।यस्तै, खोप लगाएकालाई कुनै समस्या देखिएमा समाधान गर्नका लागि १० जनाको टिम तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।