९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खेतबारीमै पुगेर मत माग्दै उम्मेदवार



घरदैलोमा नगरप्रमुखका उम्मेदवार
स्थानीयतहको निर्वाचन नजिकिएसँगै बागलुङ नगरपालिका–८ सिगानामा घरदैलोका क्रममा जनतासँग साक्षात्कार गर्दै नेकपा (एमाले) बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार जनकराज पौडेल । लेन्स : खेमराज गौतमरासस

२३ वैशाख ०७९, दमौली । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कारण गाउँ–गाउँमा चुनावी गतिविधि बढेको छ ।
उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घर–घरमा पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् । तनहँुका विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन् । म्याग्दे गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्दे ३ स्थित मकै गोडिरहेका मतदातासँग बारीमै पुगेर मत मागेका छन् ।
अहिले मकै गोड्ने बेला परेकाले कतिपय मतदाता बारीमा भेटिने भएकाले बारीसम्म पुगिएको श्रेष्ठले बताए । आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको श्रेष्ठले बताए । घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदाता समक्ष राख्ने गरेको उनको भनाइ छ । म्याग्देलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने बारेमा मतदाताको सुझाव समेत लिने गरेको उनले बताए । आफ्नो चुनावी घोषणापत्र भएपनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरि निर्वाचित भएपछि काम गर्ने श्रेष्ठले बताए ।

ऋषिङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरिराज कँडेलले पनि मकै बारीमा पुगेर मतदातालाई भेटेका छन् । “टाढाबाट नमस्कार गरेर पनि मत माग्न सकिन्थ्यो तर मतदाताको भावनाको सम्मान गर्नका लागि पनि बारीसम्म पुगेको छु”, उनले भने । मतदातालाई बारीसम्म पुगेर आफ्ना कुराहरु राख्न पाउनु र उहाँहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको कंडेलले बताए ।
बारीसम्मै आइपुगेर मत मागेपछि कृषकहरु खुसी भएका छन् । कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन् । ऋषिङ गाउँपालिकाकै अध्यक्षका उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले पनि बारीमा काम गरिरहेका मतदातासँग भेटेर मत मागेका छन् ।
व्यास नगरपालिकाका उम्मेदवार पनि खेतबारी र गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिका ११ अध्यक्षका उम्मेदवार दलबहादुर दुराले गोठाला गएका कृषकसँग भेट गर्दै मत मागेका छन् । बाख्रा चराउन पुग्नुभएकी एक महिलासँग भेटेर मत माग्दै दुराले आफ्नो कार्ययोजना बताएका छन् ।
स्थानीय कांग्रेस नेता विवेक भट्टराईका अनुसार घरघरमै पुगेर मतदातालाई भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा चलेको छ । घरमा नभेटिए खेतबारीसम्म पुगेर पनि मतदातासँग भेटघाट गरिएको उनले बताए । “खेतीपातीको समय भएकाले उम्मेदवार खेतबारीमै पुगेर पनि मत मागिरहनुभएको छ”, उनले भने । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट भिमाद नगरपालिकाका प्रमुखका उम्मेदवार काजीमान श्रेष्ठ र उपप्रमुखका उम्मेदवार मिलन आले नगरपालिकाका नौवटै वडामा घरदैलो गरिरहेका छन् ।
घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको प्रमुखका उम्मेदवार श्रेष्ठले बताए । “भिमादलाई समृद्ध बनाउने सङ्कल्पसहित गठबन्धन गरेर अगाडि बढेका छाँै”, उनले भने, “भिमादलाई कस्तो बनाउने भन्नेबारेमा जनतासँगै राय सुझाव लिएर अगाडि बढ्छौँ”,े । उपप्रमुखका उम्मेदवार आलेले नागरिक कोषअन्तर्गत दैनिक रु एक अभियान सञ्चालन गरिने बताए । नगरका हरेक बासिन्दाले यस कोषमा दैनिक रु एक सहयोग गर्नसक्ने र सङ्कलन भएको रकम नगरवासीको शिक्षा र स्वास्थ्यमा खर्च गरिने उहाँले बताउनुभयो ।

सत्तारुढ गठबन्धनकै तर्फबाट शुक्लागण्डकी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णराज पण्डित र खुमबहादुर विक पनि जनताको मन जित्ने उद्देश्यका साथ घरदैलोमा व्यस्त हुनुुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नगरप्रमुखका उम्मदेवार मुक्तिनाथ तिमिल्सिना र उपप्रमुखमा उम्मेदवार फूलमाया थापाले पनि वडामा घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । रासस

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।