८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशभरका ७ सय १६ पालिकाको नतिजा सार्वजनिक, ३५ को गणना जारी, दुई वटा स्थगित




८ जेठ ०७९, काठमाडौं । देशभरका ७ सय ५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७ सय १६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ ।
हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । उपमहानगरपालिकामध्ये धरान, धनगढी, इटहरी, हेटौँडा, बुटवाल, नेपालगञ्ज र कलैयाको अन्तिम परिणाम आइसकेको छ । उपमहानगरपलिकामा हालसम्म धरान, धनगढी, इटहरी, हेटौँडा, बुटवाल, नेपालगञ्ज, घोराही र कलैया गरी सात वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अझै जीतपुर सिमरा, तुलसीपुर र जनकपुरको गणना जारी छ ।
तनहुँको व्यास नगरपालिका, पाल्पाको रम्भा गाउँपालिकालगाायत विभिन्न नगरपालिकामा पनि गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले जेठ १० गतेभित्र सबै पालिकामा गणना सकाउन आग्रह गरेको छ । हालसम्मको गतिका आधारमा काठमाडौँ, ललितपुर महानगरपालिकालगायत गणना समयमा नसकिने देखिएको छ ।

काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डङ्गोलको अग्रता छ । साहले ४० हजार ५१ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ४ सय ८४ रहेको छ । उपप्रमुखमा डङ्गोलको ३९ हजार ८ सय १६ र उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठको १३ हजार ८ सय ९५ मत रहेको छ ।
ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी मञ्जली शाक्यको अग्रता रहेको छ । कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३ सय ७४ र उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८ हजार ८ सय ८६ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३ सय ९ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १३ हजार ४ सय ७२ मत पाएका छन् ।
बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा भएको मतदानमा विवाद भएपछि हाल मतगणना स्थगित भएको छ । यी ठाउँमा मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने अन्योल छ । दुवै ठाउँमा निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ । कूल ३५ हजार २ सय २१ पदमा हालसम्म ३३ हजार ८ सय ५८ निर्वाचित भएको आयोगले जनाएको छ । निर्वाचन सकिएको नौ दिन बितिसकेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।