१७ जेठ ०७९,काठमाडौं । सरकारले पाठ्यपुस्तकमा समावेशी मूल्यांकन ढाँचा बनाउने तयारी गरेको छ । उक्त कार्यका लागि अहिले विभिन्न संघसंस्थासँग राय सुझाव लिइरहेको छ ।
यसैबीच अपांगता अधिकार र विकासका लागि क्रियाशिल नेपाल र विश्वशिक्षा एवं पाठ्यक्रम विकास केन्द्रको सहकार्यमा काठमाडौंमा समावेशी मूल्यांकन ढाँचाका विषयमा राय सुझाव कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
‘पहुँचयुक्त पुस्तक वाचन सामग्रीको उपयुक्त पहिचान र अपांगता भएका बालबालिकामैत्री मूल्यांकन प्रणाली तर्जुमा एवं सिकाइको समावेशी ढाँचा’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गएको हो ।

गोष्ठीमा सहभागिले पाठ्यक्रममा समावेशी ढाँचाको प्रयोग हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एविलिस फाउण्डेशनका नेपाल संयोजक डा.वीरेन्द्र राज पोखरले पाठ्यपुस्तक समावेशी मूल्यांकन ढाँचामा दृष्टिविहिन, बहिरा, बौद्धिक अपांगता भएका व्यक्तिहरुका लागि उपयुक्त हुने खालको ल्याउनुपर्नेमा जोड दिए ।
उनले आवश्यकताका आधारमा निरन्तर मूल्यांकन गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘समावेशी मूल्यांकन ढाँचामा अपांगताको विभिन्न प्रकृति हुन्छ । दृष्टिविहिन, बहिरा, बौद्धिक अपांगता यी सबैलाई उनीहरुको आवश्यकताका आधारमा निरन्तर मूल्यांकनहरु गर्नुपर्ने हुन्छ । सिकाइको सहि मूल्यांकन भएन भने बच्चाहरुले कति सिके थाहा हुँदैन । त्यसैले उपयुक्त मूल्यांकन ढाँचाको आवश्यकता देखिन्छ ।’

विश्वशिक्षा कार्यक्रम अन्तर्गत सिकाइको समावेशी ढाँचाको योजना बनाउँदा अपांगता भएका बालबालिकको क्षमता, आवश्यकताका आधारमा बनाउनुपर्ने उनको भनाइ छ ।
उनले थपे, ‘एउटै विद्यालयको एउटै कक्षा कोठामा सबै अपांगता भएका बालबालिकाहरु सँगै पढ्छौ भने भने उनीहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ । शैक्षिक पद्धति, शैक्षिक सामग्रीहरु, नविनतम प्रविधिको प्रयोग, सूचना प्रविधिमा पहुँच लगायतका उपयुक्त ढाँचाहरु यसमा समावेश गर्नुपर्ने देखिन्छ ।’
समावेशी तरिकाले दिने शिक्षामा जुन बालबालिकालाई जस्तो प्रकारको शिक्षा आवश्यक पर्दछ । सोही अनुसारको प्रविधिको प्रयोग गरेर पाठ्क्रमको निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपांगतका भएका बालबालिकाको लागि सिकाइमैत्री पाठ्यक्रम आवश्यक हुनुपर्नेमा जोड दिए । पाठ्यक्रम निश्चित सिद्धान्त, दर्शनमा लक्षित हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘पाठ्यक्रम मूल्यांकन प्रणालीमा समावेशी हुनुपर्ने देखिन्छ । समय–समयमा पाठ्यपुस्तक रिभ्यु पनि गर्नुपर्यो ।’

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सबै बालबालिकाका लागि सरकारले व्यवस्थित र समावेशी शिक्षा आत्मसाथ गरेको बताए ।

उनले समावेशी मूल्यांकन ढाँचा उपयुक्त र बालबालिकाको लागि प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सबै बालबालिकाका लागि कसरी मूल्यांकन गर्न सकिन्छ ?, उनीहरुलाई पनि अन्य बालबालिका सरह सीप सिक्ने खालको, व्यवहार सिक्ने खालको बनाउन सकिएकाला भन्ने विषयमा ध्यान दिनुपर्ने देखिन्छ । विकास केन्द्र त्यसैमा केन्द्रित रहेको छ ।’
उनले राम्रो, प्रभावकारी सिकाईलाई निरन्तर सहयोग, दिगो र स्थायी बनाउने खालको सुझावको अपेक्षा गरे । कुन खालको मुल्यांकन अपनायौं भने साच्चिकै विद्यार्थीहरुलाई न्याय गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा सिडिसी पुरुषोत्तम घिमिरे, विश्वशिक्षाका पदम महर लगायतले आफ्नो प्रस्तुती दिएका थिए । सो अवसरमा विद्यालय तहमा अपांगता समावेशी मूल्यांकन ढाँचाका लागि विभिन्न समूहरु बनाएर छलफल गरिएको थियो ।







प्रतिक्रिया