
२० जेठ ०७९, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आगामी दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए । उनले सरकारले १० वर्ष भित्र डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताए ।
‘ कोभिड र त्यसपछि रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरु झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । यसको आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रुपमा नलिन आग्रह गर्दछु । म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होइन, यसले यति अस्तव्यस्त बनाउँछ, हाम्रो देश समाज सबैतिर । त्यसैले मत सम्मानीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु– युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन, ’सांसद थापाले भने ।







प्रतिक्रिया