८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकलाख राशीको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ घोषणा



२५ जेठ ०७९, काठमाडौँ । वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।

पत्रकार नेपालको ७० औं जन्मोत्सवका अवसरका मिडिया इन्टरनेसनलले उक्त पुरस्कारको घोषणा गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक वर्ष पुरस्कार प्रदान गर्नेछ ।

नेपाली पत्रकारितामा किशोर नेपाल ७० वर्षमा पनि सक्रिय पत्रकारकै रुपमा छन् । राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरेका नेपालको ७० औ जन्मोत्सवका अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा वरिष्ठ अर्थविद समेत रहेका विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताए ।

उनले व्यक्ति मरेपछि भन्दा बाँचेकै अवस्थामा सम्मान गर्नुले यसको महत्व झल्कीएको चर्चा गरे । प्याकुरेलले उतिबेला सुप्रसिध्द गायक नारायण गोपाल अस्पतालको शैयामा हुँदा उनकाबारे लेखिएका धारावाहिक लेखहरु देशान्तर साप्ताहिकमा प्रकाशित भएको सम्झना गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले किशोर नेपालको पत्रकारिताबाट कैयौं पत्रकारहरु जन्मिएको उल्लेख गर्दै ७० वर्षमा पनि पत्रकारितामा सक्रिय हुनुले उहाँको जीवनबाट धेरै सिक्नुपर्ने बताए । उनले एकलाख राशीको पुरस्कार पत्रकारितामा थप भएको भन्दै महत्वपूर्ण पुरस्कार स्थापना भएकोमा मिडिया इन्टरनेसनललाई धन्यवाद दिए ।

त्यस्तै पत्रकार शेखर खरेलले किशोर नेपालको पत्रकारितालाई कालजयी गायक बच्चु कैलाश र रनजीत गजमेरसँग जोडेर चर्चा गरे ।

जन्मदिनको अवसरमा पत्रकार नेपाललाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । किशोर नेपाल नेपाली पत्रकारिताको मेरुदण्ड भएको चर्चा गर्दै आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ उनी जस्तै सक्रिय पत्रकारलाई प्रदान गरिने र त्यसको छनौट नेपाल पत्रकार महासंघसहितको समितिले गर्ने बताए ।

कार्यक्रममा रमेश तुफान, प्रकाश रिमाल, रामप्रसाद दाहाल लगायत वरिष्ठ पत्रकारहरुले पत्रकार किशोर नेपालको चर्चा गर्दै शुभकामना व्यक्त गरेका गरेका थिए ।

समारोहमा वरिष्ठ पत्रकार किशोर नेपालले यस पुरस्कारको राशीले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै आफ्नो नामबाट मिडिया इन्टरनेसनलले एकलाख राशीको पुरस्कार स्थापना गरेको प्रति धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।