८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बाघको आक्रमणबाट खेतमा तरकारी टिप्न गएका थिङ घाइते, भैंसी र बंगुर मरे



फाइल तस्विर : जावलाखेलको चिडियाखानामा बाघ ।

२७ जेठ ०७९, चितवन । चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन् । बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ ।

खेतमा तरकारी टिप्न गएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ । बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन ।

आज बिहान खेतमा तरकारी टिप्न गएका पूर्वी चितवनको राप्ती नगरपालिका १ डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा)लाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार घाइतेको अनुहार र घाँटीमा चोट लागेको छ । घाइतेको अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उद्धार गरेको हो ।

उक्त बाघले स्थानीय सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको पाइएको उनले बताए । त्यस्तै, बाघले जितबहादुर थिङको एउटा गाईलाई आक्रमण गरि घाईते बनाएको उनले बताए ।

यसअघि २४ जेठमा भरतपुर महानगरपालिका २३ की मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो । स्थानीय घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका बेला बोटेलाई बाघले आक्रमण गरेको थियो ।

जेठ महिनमा मात्रै बाघले आक्रमण गरेको यो पाँचौ घटना हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनहरु पाटे बाघको मुख्य बासस्थान भएका क्षेत्र हुन् ।

पाँच वर्षअघिको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा पाटेबाघ छन् । गत वर्ष बाघको गणना गरिए पनि बाघको तथ्यांक सार्वजनिक गरिएको छैन । न्युज कारखाना

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।