७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै




२९ असार ०७९, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेख्खेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेका नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरुको धारणा छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ ।
घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।
भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।