७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हत्याको ४८ दिनपछि महिलाको शव फेला, श्रीमानसहित तीन जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

७ साउन ०७९, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका १ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ ।
शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो ।
महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिएका छन् ।
हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निशाका घरका सदस्यहरुमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरुको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जानकारी दिए । ससुराली पक्षले निशाको हत्या गरी आफ्नै धान खेतमा खाल्डो खनी गाडेको थियो । आज सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलसमेत अनुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थमा शव फेला परेको छ । निशालाई गएको जेठ २२ गतेका दिन नै हत्या गरिएको प्रहरीले जनाएको छ ।
महोत्तरी सोनमा गाउँपालिका–१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमार रायसँग बिहे भएको थियो ।

 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।