२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


हनुमानढोकास्थित दशैँघरमा राखियो जमरा



१० असोज ०७९, काठमाडौं ।  काठमाडौं हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रुपमा जमरा राखिएको छ। सोमबारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो।

हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो। उक्तअवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ।

दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ। सोमवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ। नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ। जमरा राखेपछि हनुमान ढोका दरबारका पूजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताए। विशेषतः जमरा जौ को राख्ने गरिन्छ। तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।