२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक



फाइल तस्विर

१० कात्तिक ०७९, चितवन । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो ।
सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताएका छन् । उनले भने, “नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ । एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।”
जेभीले नेपाल सरकारबाट विसं २०७९ चैत २५ गतेसम्मको म्याद पाएको छ । धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ छ । उहाँका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । करिब ३.१ किलोमिटर रहेको सडक निर्माणका लागि सम्झौता विसं २०७५ वैशाख २६ गते भएको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग यसको सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । दश मिटर चौडाइको यस बाटो निमार्णका लागि सडकको दुवैतर्फ छदेखि सात फिट गहिरो ढल खनिएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माणकार्य प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एक योजना हो । जसका लागि रु ६८ करोड २३ लाख १५ हजार आठ सय २४ मा सम्झौता भएको थियो ।
सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने रु ७१ करोड ३८ लाख ३५ हजार पाँच सय ७४ रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताउनुभयो । कार्यालयले अब रु २१ करोड भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ८ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।