३० कात्तिक ०७९,काठमाडौं । देशको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनामा पहिलोपटक सकारात्मक देखिएको छ । गत आवको शुरुदेखि नै चालु आवको दोस्रो महिनासम्म पनि नकारात्मक रहेको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनामा १२ अर्ब ४३ करोडले बचतमा गएको छ ।
चालु आवको श्रावणमा २२ अर्ब ६३ करोड र भदाैंमा २३ अर्ब ६८ करोड रुपैयाँ शोधनान्तर घाटा नकारात्मक रहेको थियो । असोज महिनासम्म भने अघिल्लो वर्षको असोज महिनासम्मको तुलनामा १६.८ प्रतिशतले रेमिट्यान्स वृद्धि भइ २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको कारण शोधनान्तर घाटा नकारात्मक हुनबाट जोगिएको राष्ट्र बैंकले जनाएको छ ।
चार वस्तुको आयात प्रतिबन्ध कायमै रहेको बेला असोज महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा रेमिट्यान्स रकममा वृद्धि एवम् आयातमा समेत १६.२ प्रतिशतले संकुचन आउँदा यसको सकारात्मक असर विदेशी मुद्रा सञ्चितिमा समेत परेको छ । चालु आवको साउन महिनासम्म कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ३५ करोड रहेकोमा असोजमा बढेर १३ अर्बले बढेर ९ अर्ब ४८ करोड डलर पुगेको छ ।
आयातको १६.२ प्रतिशत प्रतिशत घट्दै जानु एवम् निर्यात समेत ३५.७ प्रतिशतले घट्दै जाँदा देशको समग्र व्यापार घाटा अघिल्लो आवको सोही महिनाको तुलनामा १३.१ प्रतिशतले खुम्चेर ३ खर्ब ५९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलर हरेक दिन बलियो हुँदै जाँदा चालु आवको पहिलो महिनामा रेमिट्यान्स पनि बढेको देखिएको छ । देशमा साउनमा ९२ अर्ब २१ करोड, भदाैंमा ९४ अर्ब २१ करोड र असोजमा पनि ९४ अर्ब १ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । असोज महिनाको रेमिट्यान्सको वृद्धिदर अघिल्लो वर्षको सोही महिनाको भन्दा १६.८ प्रतिशतले बढी हो ।
असोज महिनासम्म नेपाल भित्रिएका पर्यटकहरुबाट ११ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरे पनि नेपालीहरु विदेश भ्रमण एवम् अध्ययनको लागि भनेर २६ अर्ब ४ करोड खर्च गर्ने गरेका छन् । नेपालको खुद सेवा आय २१ अर्ब ७० करोडले घाटामा रहेको छ ।
प्रतिक्रिया