३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भूकम्पले ५८ घरमा क्षति, एक जनाको मृत्यु, तीन घाइते



बाजुरा, ११ माघ । जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार आएको ५.०९ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी, निजीमा आंशिक र पूर्ण क्षति भएको छ ।

मङ्गलबार अपराह्न २ः४३ बजे आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । भूकम्पका कारण जिल्ला सरकारी कार्यालयका भवन चर्किएका छन् । स्थानीयका कतै घर चर्केका छन्, कतै पर्खाल भत्किएका छन् । ढुङ्गा र माटोबाट बनेका घर चर्केर भित्र बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

उनले भूकम्प आएपछि मातहतका इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ–गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पठाउँदा अहिलेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको बताए ।

भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाएर भिरबाट ढुङ्गा खसेर टाउकामा लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पका कारण जिल्लामा तीनजना घाइते भएका छन् । घाइते भएका तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गौमूल–१ अम्लिका अन्दाजी ४५ वर्षीय राजदल बोहरा, बडिमालिका नगरपालिका–२ की चन्द्रा महत र हुम्ला जिल्ला घर भई हिमाली–६ दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले बताए । बोहराको अम्लिस स्वास्थ्य संस्थामा र नेपालीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । महतलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

वनमा चराउन लगिएका ५० भेडा चट्टान फुटेपछि च्यापिएर मरेका छन् । गौमूल–१ अम्लिसका राजदल बोहराका ५० भेडा भिरको चट्टान भूकम्पले फुटेर चरिरहेका भेडा च्यापिएर मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।