उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नयाँ वर्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पद सम्हाल्नेछन् । मुलुकको अर्थतन्त्रमा समस्या देखिएको टिप्पणी भइरहेको छ । उद्योगी व्यवसायी, आम नागरिकले पनि समस्या भोग्नुपरेको छ । महासङ्घ नेतृत्वले व्यवसायीका समस्या समाधानमा ध्यान नदिएको गुनासो पनि बेलाबेलामा सुनिने गरेको छ । सरकारपछि देशव्यापी रुपमा ठूलो सञ्जाल रहेको महासङ्घको काम कारवाही, निर्वाचन तथा मुलुकको अर्थतन्त्रको बारेमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठसँग गरिएको अन्र्तवार्ताको सम्पादित अंश :
नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा हुँदैछ, यही क्रममा देशव्यापी दौडाहामा हुनुहुन्छ ? तपाईंको पक्षमा माहोल कस्तो पाउनुभएको छ ?
म महासङ्घमा आबद्ध भएको २५ वर्ष भयो । यो यात्रालाई मैले निरन्तररूपमा अगाडि बढाएको छु । विभिन्न कार्यभार सम्हाल्दै तीन पटकसम्म नेपाल औषधि उत्पादक सङ्घको अध्यक्षका रूपमा पनि काम गरेँ । साथीभाइले माथिल्लो नेतृत्वमा जानुपर्छ भनेर प्रेरित गर्नुभयो । महासङ्घको उपाध्यक्षमा एकपटक विजयी र अर्को एकपटक पराजित भएँ ।
यसपटक मैले ठूलो चुनौती लिने प्रयत्न गर्दैछु । वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लड्न गइरहेको छु । हाम्रो अर्थतन्त्रमा अनेकन समस्या देखिएका छन् । ती समस्यालाई म व्यवसायी भएकाले राम्रोसँग बुझेको छु । ती समस्या समाधान गर्न सक्छु भन्ने विश्वास पनि छ । अहिले महासङ्घमा सरकारसँग डटेर मुकाबिला गर्न सक्ने नेतृत्व आवश्यक छ । मेरो पहिचान पनि त्यस्तै खालको व्यक्ति भनेर स्थापित छ । मुलुकको अवस्था चुनौतीपूर्ण रहेपनि निजी क्षेत्रका हितमा काम गर्ने गरी म महासङ्घको नेतृत्वमा आउनुपर्छ भन्ने मेरो दाबी छ । किनभने मैले निजी क्षेत्रका लागि ३० वर्ष खर्चेको छु र मलाई लाग्छ साथीहरुले मलाई विजयी गराउनुहुनेछ । निजी क्षेत्र भनेको सरकारपछिको सबैभन्दा ठूलो सञ्जाल भएको संस्था हो । कुल अर्थतन्त्रको ७० प्रतिशत बराबरको हिस्सा हामीले बहन गरेका छौँ । निजी क्षेत्रको महत्व विगत केही वर्षमा बढाउन सकेका छैनौँ । निजी क्षेत्रले देशको अर्थतन्त्रलाई कसरी डो¥याउन सक्छ भन्ने कुरा हामीले बुझाउनै सकेनौँ । पछिल्लो ३० वर्ष हाम्रो आन्दोलनमा नै बित्यो । मेरो पुस्ताले आन्दोलनबाहेक केही देखेको छैन । आर्थिक क्रान्तिको आन्दोलन भने भएन । प्रतिव्यक्ति आय तुलनात्मकरूपमा बढ्न सकेको छैन । सरकारको औद्योगिक विकास गर्ने सोच नै भएन ।
सरकारलाई मात्रै दोष देखाएर पुग्छ र अब पनि ? निजी क्षेत्रले यसबीचमा के ग¥यो भन्ने प्रश्न पनि तपाईंहरूमाथि उठ्ने गरेको छ ?
हामी सिमेन्ट, रड र ह््याचरीमा आत्मनिर्भर भएका छौँ । औषधिमा र डेरीमा करिब–करिब आत्मनिर्भर छौँ । कतिपय माल, वस्तु हामी निर्यात गर्छौँ । देश कृषिप्रधान भनिन्छ, तर कृषि भने छैन । राजस्वको स्रोत नै भन्सार बन्न पुग्यो । त्यसले अर्थतन्त्र धान्न छाड्यो । उद्योगबाट उठ्नुपर्ने कर एकदमै कम छ । कमी–कमजोरी भए त्यसलाई सुधार गरेर जान तयार हुनैपर्छ ।
कोरोना त्रासपछि समस्यामा परेको अर्थतन्त्रलाई पुनः जागृत गराउने निजी क्षेत्रको एजेन्डा प्रष्ट भएन भन्ने गुनासो सुनिन्छ ?
कोरोनापछि सरकारले खासै केही गरेन । गरिब मुलुक हो गर्न सकेन भनेर हामी चुप नै लाग्यौँ । कोरोनापछि उठ्न लागेको अर्थतन्त्रमा बैंकको ब्याजको मार प¥यो । तरलताको अभाव देखियो । कोरोनापछि बैंकहरुसँग प्रशस्त तरलता भयो । मनलाग्दी तरिकाले हरेक क्षेत्रमा लगानी भयो । बैंकको पनि व्यापार थियो, गरे । उनीहरूले जनताको पैसा लिएका छन् । सरकारले अहिलेको समयमा साना तथा मझौला उद्योगलाई हेरिदिनुपर्छ । ती क्षेत्रलाई राहत र अनुदान दिनुपर्छ । साना व्यवसायी नै हाम्रा अर्थतन्त्रका आधारस्तम्भ हुन् ।
ब्याजदरभन्दा पनि प्रिमियमका कारण बढी मार प¥यो भन्ने गुनासो छ ? यसलाई कसरी लिनुभएको छ ?
ब्याज पनि जोडिएर आउँछ । मलाई त सबैभन्दा बढी चिन्ता भनेकै प्रिमियम दरमा हो । यसअघि सरकारले तोकिदिएको पनि थियो । तर मैले बुझेको छैन, यो प्रिमियम दर किन ? जोखिम बढी भएपछि हामी प्रिमियम लगाउँछौँ भन्ने गरेका छन् बैंकले । ठूलालाई कम सानालाई बढी भएको छ । यो त संविधानको प्रस्तावनाको विरुद्ध नै भयो । ‘समाजवादतर्फ उन्मुख अर्थतन्त्र’ संविधानमा लेखिए पनि यहाँ एकअर्काबीच झनै खाडल बढ्ने अवस्था देखियो । सानाले चार पाँच प्रतिशत बढी तिर्ने, ठूलाले कम तिर्ने भएपछि विभेद भयो । सरकारले तुरुन्त हस्तक्षेप गर्नुपर्छ । सरकारले कृषि उत्पादनमा अनुदान दिनुपर्छ । तर हाल दिइएको अनुदान दुरुपयोग भएको छ । जसलाई रोक्नुपर्छ । घरजग्गामा पैसा गयो । निश्चितरूपमा मन्दी आउँदा कुनै पनि क्षेत्र चलायमान भएन । पैसा कहाँ गयो भन्ने प्रश्न उठेको छ । केही बाहिर पनि गयो होला । विप्रेषणमा सुधार छ । राजनीतिक नेतृत्वलाई मेरो प्रश्न छ, कति दिनसम्म हामी विप्रेषणको आडमा बाँच्ने ? गरिब जनताको नेता बन्ने कि सम्पन्न जनताको नेता बन्ने अब सोच्नुपर्छ । सम्पन्न जनताकोे नेता बन्ने हो भने कृषि र औद्योगिक क्रान्ति हुनुपर्छ । उहाँहरुले भाषणमा भन्नु भएको र खासै नगर्नु भएको आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्छ । हाम्रा खेत बाँझा छन् । जलस्रोतको सदुपयोग हुन सकेको छैन । सरकारले निजी क्षेत्रका कुरालाई सम्बोधन गर्नुपर्छ । ज्ञापनपत्र बुझाएर बस्ने होइन । हामीले सरकारलाई आश्वास्त पार्नैपर्छ । कर्मचारीतन्त्रलाई पनि जनताको पैसाले तलब खाने हो भनेर पाठ सिकाउनुपर्छ । पटकपटकको आन्दोनपछि पनि कर्मचारीतन्त्रको सोच बदल्न सकिएन । कर्मचारी संरचना परिवर्तन गर्नेतर्फ जमर्को नै गरेनौँ । एउटा उद्योग त गरिहेर्नोस् कति समस्या र जटिलता छ भन्ने कुरा थाहा पाउनुहुन्छ । हाम्रोमा असाध्यै कडा कानुन छन् । कर्मचारीले काम नै गर्न चाहँदैनन् । हामीले यी विषयमा सुधार गर्नैपर्छ । नेताको जिब्रोमा आर्थिक क्रान्ति भएपनि व्यवहारमा छँदैछैन ।
व्यवसायीलाई समस्या परिरहेको बेला बैंक तथा वित्तीय संस्थाले किन यत्ति धेरै पेलेका होलान् ?
असुलीको तरिका नै गलत छ, उनीहरुको । बैंकले असुलीका लागि गुण्डा नै राख्ने गरेको सुनिएको छ । कुनै–कुनै बैंकको असुलीको तरिका मानवीय हिसाबले पनि गलत छ । जिल्लाका साथीभाइले यो कुरा सुनाएका छन् । हाम्रोमा लगानीमैत्री वातावरण नै बन्न सकेन । आज निर्माण सामग्रीको माग ६० प्रतिशतले घटेको छ । उद्योगको बिक्री घटेको छ । व्यवसाय घटेको छ । यस्तै, अनुगमनको पीडा उस्तै छ । सरकारको अनुगमन गर्ने तरिका नै मिलेको छैन । अनुगमन गर्दा हामीलाई सूचना दिँदा के फरक पर्छ ? सार्वजनिक रुपमा बेइजजत गर्ने काम भएको छ । बैंकहरुले पनि उस्तै दुःख दिएका छन् । हामीलाई थाहा छ बैंकको पैसा जनताको हो । तर, बैंकसँग हृदय त चाहियो । व्यवसायीलाई मनलाग्दी तरिकाले कालो सूचीमा राख्ने काम भएको छ । बैंकलाई नाफा नकमाउ भन्न खोजेको होइन । हिजो हामीलाई छ दशमलव पाँच प्रतिशतमा ऋण दिएको थियो । तर, राति सन्देश पठाएर भोलिदेखि ब्याज यति भन्ने जुन शैली छ, त्यो गलत छ । ब्याजदर बृद्धि गर्दा पनि निश्चित समयमा मात्रै परिवर्तन हुने हुनुपर्छ । पछिल्ला दिनमा त हरेक सात दिनमा परिवर्तन हुने गरेको छ । यसबीचमा म पनि हायलकायल भए । विगतमा मैले आफैँ २१ प्रतिशतसम्म बैंकको ब्याज तिरेको छु । अवस्था अहिले फरक छ । सरकारको नीतिले हामीले बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । नेपाली बजारमा कुनै समय एभरेष्ट र ब्राइटर भन्ने टुथपेस्ट आएको थियो । ती अहिले कहाँ गए ? प्रतिस्पर्धा गर्न सकेनन् । उनीहरु अस्ताए । नेपालमा राम्राराम्रा बिस्कुट उद्योग छन्, तर सरकारले किन आयात गर्न दिइरहेको छ ? अत्यधिक मात्रामा किन कार आयात गर्ने, मोटरसाइकलको मात्रै दुई वटा उद्योग भइसके, अब किन आयात गर्ने ? त्यसमा कोटा लगाए हुँदैन ? तर त्यो सोचमा सरकार छैन । वैदेशिक मुद्राको सञ्चिति त बढेको छ । तर मदिरा आयात किन खोलेको ? नेपालमा नै राम्रा उद्योग छन् ।
तपाईं महासङ्घको नेतृत्वमा पुगेपछि यी र यस्ता विषयमा कडाई गर्छु भन्न खोज्नु भएको हो ?
यसपटक म नयाँ अध्यक्षलाई सहयोग गर्ने नै हो । म नेतृत्वमा पगेपछि यस्ता वस्तुमा आयात प्रतिबन्ध नै लगाउनेतर्फ मेरो पहल रहन्छ । हामीले आयात रोक्नै पर्छ । अत्यधिक मात्रामा मोबाइलको आयात भइरहेको छ । किन चाहियो हामीलाई यति धेरै मोबाइल ? देशको अर्थतन्त्र ठीक छैन, आयात नियन्त्रण गर्नैपर्छ ।
सरकारी निकायबीचको समन्वयको अभाव, झण्झटिलो कार्यप्रणाली लगायतका कारणले पनि व्यवसायीहरु उद्योग स्थापना गर्नेतर्फ लागेनन् भन्ने टिप्पणी कत्तिको सही छ ?
यो देशमा मुर्खले मात्रै उद्योग गर्छ भन्ने स्थापित भएकोे छ । बुद्धिमानले व्यापार नै गर्छन् । एकदमै सही छ । सात मन्त्रालय, २१ विभाग र ३२ वटा सरकारी निकाय पुगेर कसरी उद्योग लगाउन सकिन्छ ? सरकार र कर्मचारीतन्त्रले कहिल्यै पनि उद्योगीलाई संरक्षण नै गरेन । दैनिक काम कारवाहीमा पनि समस्या छ । नीतिगत र नियतिगत दुवै समस्या छ, हाम्रोमा । हाम्रो सोच उद्योगमैत्री बन्न सकेको छैन । कर्मचारी प्रशासन र राजनीतिक नेतृत्वले यसमा ध्यान दिएन ।
विषम अवस्था सुधारका लागि सरकारले के गर्नुपर्ला ?
व्यवसायीमैत्री नीति बनाउनुपर्छ । राज्यको व्यवसायीलाई हेर्ने नजर नै गलत छ । यिनीहरु कालोबजारिया हुन्, नाफाखोर हुन भन्ने मान्यतामा परिवर्तन हुनुपर्छ । नाफा २० प्रतिशतभन्दा बढी खानु हुँदैन भन्ने छ । तस्करीभन्दा अरु कुन धन्दामा २० प्रतिशतभन्दा बढी नाफा हुन्छ ? धेरै नाफा भयो भने १५ प्रतिशत भन्दा जाँदैन । अर्को कुरा मैले नाफा गरिन भने सरकारले कसरी आम्दानी गर्छ ? नाफाको २५ प्रतिशत म सरकारलाई बुझाउँछु । बजारमा प्रतिस्पर्धा छ, कसैले पनि बढी नाफा कमाउनै सक्दैन ।
तपाईंको भनाइले त सरकारलाई दोष दिएर निजी क्षेत्र उम्कन खोजेको जस्तो देखिएन र ?
सुतेकालाई पो उठाउन सकिन्छ । सुतेको जस्तो गर्नेलाई उठाउन सकिदैन । म आफैँ ३० वर्ष यस क्षेत्रमा लागेको छु । मैले कुरा गरिन होला त ? सरकारलाई बुझाउने प्रयास गरिन होला त ? पछिल्लो ३० वर्षमा २९ वटा त सरकार नै आए । कमसेकम ठूला पार्टीहरु आर्थिक एजेण्डामा समान धारणा बनाएर अगाडि बढुन् भन्ने हाम्रो चाहना हो । दश वर्षको हाम्रो आर्थिक नीति यो हो भनेर स्पष्ट खाका त ल्याइदिनुस् । हामीले लविङ मात्रै गरेर पुगेन । अब कार्यान्वयनका लागि सरकारलाई झक्झकाउन लाग्नुप¥यो । म सरकारलाई गम्भीर हुन आग्रह गर्दछु । साठी लाख बढी अदक्ष नेपाली विदेश गएका छन् । सरकारले गर्न खोज्ने भने सम्भव छ । पछिल्लो १० वर्षमा नेपालमा आसेपासे पुँजीवादको विकास भइरहेको छ । जुन अत्यन्तै हानीकारक छ । एक सय जना व्यापारीको हातमा मुलुकको ७० प्रतिशत बराबरको अर्थतन्त्र पुगिसकेको छ । साना तथा मझौला व्यवसायीले अर्थतन्त्र धानेको छ तर उनीहरुसँग ३० प्रतिशत बराबर मात्रै पैसा छ । एकाध मान्छेको हातमा बैंकको पैसा पुगेको छ । सरकारले अब लगानीको क्षेत्र तोकिदिनुपर्छ ।
निराशाका बीचमा पनि आशाका घेरा हुन्छ भनिन्छ, अवस्था सबै बिग्रिसकेको हो र ? कुनै आशाको घेरा नै छैन र ?
त्यो घेरा भनेको हरेश नखानु भन्ने हो । हामीले हरेश खाएका छैनाँै । यस्तो कठिन अवस्थामा पनि महासङ्घलाई नयाँ उचाईमा उठाउन लागिपरेका छौँ । अब सरकारले पनि बुझ्ने बेला आयो । विसं २०४६ सालपछि धेरै काम भयो त भन्न सकिएला तर भयो त के ? नेपालीमा भनाइ छ नि ढिलो न्याय दिनु भनेको न्याय नदिनु नै हो । हामीले २५ वर्ष पहिले गाँउघरलाई दिने सुविधा अहिले आएर दिँदैछौ । अब काम गर्ने तरिकामा परिवर्तन गर्नु आवश्यक छ । हाम्रोमा अझै पनि पञ्चायतको भूत बाँकी छ । लालफित्ता शाही बाँकी छ ।
अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन के कति समय लाग्ला ? एउटा व्यवसायीको आँखाबाट हेर्दा के देख्नुहुन्छ ?
म ज्योतिष होइन । सबै क्षेत्र गम्भीर भएर लागे सम्भव छ । सरकारले साधारण खर्चको आकार घटाउनु पर्छ । त्यसबाट धेरै सुधार हुन्छ । हाम्रा हरेक कुरा चुनाव केन्द्रित हुने गरेको छ । हामीले धेरै भक्ता र अनुदान बाँड्दैछौ । यो तत्काल रोक्नुपर्छ । लिन नपर्ने मान्छेले पनि सरकारको पैसा र अनुदान लिइरहेका छन् । केही घटाउन सकिने क्षेत्र छन् । आयातलाई क्रमिक रुपमा हटाउनुपर्छ । आयात घटाएर यहाँको उद्योगलाई सरकारले हेरिदिए हुन्छ । अर्थतन्त्रको कायापलट हुन समय लाग्छ, तर सुधारको मार्गमा भने अगाडि बढ्छ नै । हामीले त विदेशबाट फर्केका मानिसलाई उद्योग खोल्ने वातावरण बनाउनुपर्छ ।
महासङ्घले ‘भिजन पेपर’ नै सार्वजनिक गरेर अभियानात्मक रुपमा काम गर्ने भनेको थियो । तर अपेक्षित काम हुन सकेको छैन, त्यसप्रति यहाँको टिप्पणी के छ ?
भिजन पेपर बनाउने काम सरकारको हो । हामीले सहयोग गर्ने हो, कार्यकारी होइनौँ । हाम्रो भिजनलाई त सरकारका तर्फबाट कार्यान्वयन गराउन सक्नुपर्छ । हामीले आम व्यवसायीलाई लबिङ गर्न छाडेर आफ्ना लागि लबिङ गर्न थाल्यौँ । यसकारण आसेपासे पुँजीवाद मौलाउने र विस्तारित हुने अवस्था आयो । हामीले ‘क्रोनी क्यापिटलिज्म’लाई खत्तम गर्नैपर्छ । भिजन पेपरलाई सरकारले आत्मसात गर्नुपर्छ ।
महासङ्घले ‘स्टार्टअप’को अवधारणा पनि अगाडि बढाएको छ, औद्योगिक विस्तारका लागि यो अवधारणाले काम गर्छ भन्ने लाग्छ ?
यो ठीकै हो । करिब ९० प्रतिशत स्टार्टअफ असफल भएको छ । हाम्रोमा नक्कल गर्ने बानी बढी छ । नयाँ सोचका साथ काम गरे, यसबाट अर्थतन्त्रमा सहयोग पुग्छ । तर, अनुशरण गर्ने बानीले यस क्षेत्रमा प्रभावकारी हुन सकेको छैन । सेवा क्षेत्रमा पनि स्टार्टअप आइरहेका छ । हामीले सफलको नाम सुन्याँै, तर असफलको नाम सुनेका छैनौँ ।
बैंकर र व्यवसायी नछुट्दिा समस्या आएको भन्ने टिप्पणी छ नि ?
यो पहिल्यै सरकारले सोच्नु पर्दथ्यो तर त्यसमा काम भएन । एकातर्फ बीमा कम्पनी मर्जर भन्ने अर्कोतिर लघुबीमाको लाइसेन्स बाँडियो । योभन्दा खराब सोचाई अरु के हुनसक्छ ? नेपालको अर्थतन्त्रको बारेमा सबै पक्ष एकमत हुनैपर्छ र निष्कर्ष निकाल्नै पर्छ । राष्ट्र बैंकले बैंकको मात्रै संरक्षण गर्ने गरेको छ । हामी व्यवसायीलाई संरक्षण गर्ने कोही भएनन् । सरकार, राष्ट बैंक र अर्थतन्त्रको अचानो भएका छौँ हामी व्यवसायी ।
तपाईं महासङ्घको वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
जिल्लामा हाम्रो बढी मतभार छ । सातै प्रदेशमा हामीले जितेका छाँै । ती सबैको मत मलाई आउँछ । मेरो एजेण्डा र आत्मविश्वास दुवै छ । मेरा कुराका विश्वास गर्ने, चित्त बुझाउने धेरै मानिस छन् । निस्वार्थ मानिसलाई चयन गरेर नेतृत्वमा पु¥याउनुपर्छ । सबैभन्दा ठूलो कुरा मलाई हारसँग डर छैन । जो हारसँग डराउँदैन, उसले जरुर जित्छ नै ।
प्रतिक्रिया