२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बैतडीमा जिप दुर्घटनापछि छ जनाको मृत्यु



मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन्

 

२९ चैत्र । जयपृथ्वी राजमार्गको खोडपे बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका ८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप मङ्गलबार राति ११ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका छन् । बाह्र जना सवार जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो । जिप चालक फरार छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बालुवाको ढिस्कोमा पुरिएर थप एकको मृत्यु

यसैबीच मङ्गलबार बैतडीको धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । ढिस्कोले पुरिएर घाइते भएका सिगास गाउँपालिका–२ धौलाडी ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको छ ।

उक्त घटनामा सिगास–२ धौलाडीकी ३३ वर्षीया राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बालुवाको ढिस्कोमा पुरिँदा ४२ वर्षीय सङ्ग्रामसिंह धामी घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।