२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश नियुक्तिबारे भएन निर्णय



काठमाडौं, ६ वैशाख । सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल भएको छ । नियुक्तिबारे छलफल भए पनि बैठक बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एउटै मात्र एजेण्डा भए पनि कुनै ठोस निर्णय नभएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । सोबारे अर्को बैठकमा निर्णय गर्ने गरी बैठक सकिएको उनले बताए ।

उपप्रधानमन्त्री तथा रक्षा एवं कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले परिषद्को बैठक बसेको उल्लेख गर्दै बैठकमा प्रधानन्यायाधीश नियुक्तिसँग सम्बन्धित विषयमा छलफल भएको जानकारी दिए । ‘प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एजेन्डा थियो, त्यो एजेण्डामा छलफल भयो, बैठक स्थगित भयो,’ उनले भने । अर्को बैठक कहिले बस्नेबारे समय नतोकिएको उनको भनाइ छ ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री खड्का र मुख्यसचिव शंकरदास वैरागी सहभागी थिए ।

 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।