२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री दाहालद्वारा चुम शताब्दी श्याग्या महोत्सव शुभारम्भ



गोरखा, ६ वैशाख । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ प्रकृति र संस्कृतिको संरक्षणका लागि महोत्सवको सुरु भएको चुम शताब्दी श्याग्या महोत्सव २०८० मूल समारोह समितिका अध्यक्ष तथा चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा सुरु भएको महोत्सवको एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरे । चुम क्षेत्रको चिनारी, निरन्तरता, प्रचारप्रसार तथा जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यका साथ आयोजना भएको महोत्सव तीन दिनसम्म सञ्चालन हुने अध्यक्ष लामाले जानकारी दिए ।

विसं १९७७ को बुद्धजयन्तीका अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसात्मक सिद्धान्तको पालना गर्ने गरी सामूहिक प्रतिबद्धता गराएका र त्यस समयदेखि नै चुमबासीले चुम उपत्यकालाई अहिंसात्मक क्षेत्र घोषणा गरेका थिए । अहिंसा क्षेत्र भएकाले त्यहाँ कुनै प्रकारको काटमार हुँदैन । महोत्सवले चुमबासीहरुको सामाजिक सांस्कृतिक एकतालाई थप मजबुत बनाउनाका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा सहयोग पुु¥याउने र सामूहिक प्रतिबद्धतालाई अझ बलियो बनाउने विश्वास व्यक्त अध्यक्ष लामाको छ ।

महोत्सवमा शान्तिदीप प्रज्वलन र चुम उपत्यका स्थानीय समुदायद्वारा हस्ताक्षर गरी अहिंसा क्षेत्रलाई निरन्तरताका लागि प्रतिबद्धता जनाउने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए । भोलि वैशाख ७ गते दोस्रो दिन शान्तिको पदयात्रा, धर्मगुरुबाट क्षमापूजा, बौद्धका प्रवचन र सांस्कृतिक कार्यक्रम हुने उनको भनाइ छ ।

महोत्सवकै अवसरमा सो क्षेत्रमा वृक्षारोपण गर्ने, वैशाख ८ गते प्रकृति र संस्कृति संरक्षण गरी प्रमुख लब्राङ लामाबाट ऐतिहासिक नाराक छ्याम् लाखे नाच प्रदर्शनीसहित स्थानीय र परम्परागत खेलकुद कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै, महोत्सवको अन्तिम दिन वैशाख ९ गते परम्परागत घोडेजात्रा, स्थानीय संस्कृति कार्यक्रमहरुको प्रदर्शनी गरी चुम श्याग्या शताब्दी महोत्सवको समापन गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।