२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत



काठमाडौं , ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत गुमाएसँगै सरकार ढलेको हो। मुख्यमन्त्री अधिकारीले नेपालको संविधान धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए। अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको सभामुख कृष्णप्रसाद धितालले घोषण गरे।
प्रदेश सभाको शनिबारको बैठकमा उपस्थित ५९ सांसदमध्ये २४ जनाले मात्रै अधिकारीको विश्वासको मतको पक्षतमा मतदान गरे। विश्वासको मतको प्रस्तावको विपक्षमा ३५ सांसद उभिए। प्रदेश सभामा ६० सांसद छन्।
प्रदेश सभाको विश्वास गुमाएसँगै अधिकारी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन्। गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका थिए। तर, गत चैत १० गते माओवादी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।
प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखबाहेक सात, राप्रपाका दुई जना र एक जना स्वतन्त्र सांसद छन्। अब ठूलो दलको नेताको हैसियतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने भएका छन्।
अधिकारी संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री बनेका थिए। प्रदेश सभामा कुनै दलको बहुमत नभएमा दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलिजुली सरकारका बनाउन सकिने व्यवस्था यस उपधारामा छ।

त्यस्तै, उपधारा ३ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने व्यवस्था छ। गण्डकी प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ। कांग्रेसका २७ सांसद छन्।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  २ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।