ललितखबर
१७ बैशाख । राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले शनिबार परेको झरिमा समेत सडकमा बसेर धर्ना दिएका छन् ।
उनको टोली सरकार समक्ष विभिन्न माग राख्दै शुक्रबारदेखि माइतीघरमा धर्नामा छन् । शनिबार झरि परिरहेका बेला उनका समर्थक सडकमा पालत्रि बसेर धर्ना कसिरहेका थिए भने पुन सडक पेटीमा बसिरहेका थिए ।
‘युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्छ’भन्दै उनी धर्नामा बसेका हुन् ।

पुनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न सङ्घ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग राखेका छन् ।
उनले कोषको रकम सहज तरिकाले समयमै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन छुट्टै ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने माग राखेका छन् । अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने पनि उनको माग छ ।
निजी अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धनका लागि विज्ञान मन्त्रालयअन्तर्गत व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने उनले माग राखेका छन् ।
उनले शनिबार विहानै सामाजिक सञ्जालमार्फत ‘हामी माइतीघरको सडकमा रातभर सुतेर उठ्यौं,जनताहरु सुति रहनुहोस’ भन्दै लेखेका थिए ।
आन्दोलनमा सघाउन सर्वसाधारण जनता नआएकोमा आक्रोस पोख्दै,‘ नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस । के त होला र ? केहि चिन्ता छैन हद्द भए यहि नेपाल ता जाला । पृथ्वी ता रहि रहन्छ नि’ भन्दै टिप्पणी गरेका हुन् ।








प्रतिक्रिया