काठमाडौं, १७ वैशाख । कपनको सरस्वतीनगरमा भएको निरा आचार्यको हत्यामा संलग्न एक युवकलाई प्रहरीले सात दिनपछि पक्राउ गरेको छ । गत बैशाख १० गते निराको हत्यामा संलग्न रहेको भन्दै विनोद विश्वकर्मालाई प्रहरीले झापाबाट पक्राउ गरेको हो ।
सामान किन्नका लागि गएका विनोदले निराको घाँटीमा लगाएको सिक्री देखेपछि त्यो सिक्री लुट्नका लागि हत्या गरेको बयान विनोदले दिएको प्रहरी जनाएको छ । सिक्री लुट्न लाग्दा निराले प्रतिकार गरेपछि पसलमा भएको चक्कुले हत्या गरेको बयान विनोदले दिएको प्रहरीले बताएको छ ।
‘घटनापछि उनले पसलभित्रै लुगा फेरेर भागेका थिए, घटनास्थलमा मास्कबाहेक उनको लुगा पनि भेटिएको छैन’ अनुुसन्धानमा संलग्न प्रहरीले भने ‘हुलियाको प्रमाण नहोस् भनेर उनीभित्र जाँदा र हत्या गरेर फर्किदा अर्कै लुगा लगाएको बयानका क्रममा उनले बताएका छन् ।’
उनले सिक्रीसँगै केही नगद पैसा पनि लगेर हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ भने सिक्री भने बरामद गरिसकेको छ । विनोदले बालाजुको सुन पसलबाट सिक्री बरामद गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा प्रहरीले एउटा रेस्टुरेन्टमा रगतले लतपतिएको झोला फेला पारेको थियो ।
वैशाख ७ गते मातातीर्थ औँसीको दिन पसलमै रहेको समयमा निराको हत्या भएको थियो । हत्यारा सार्वजनिक गर्न माग गर्दै उनका आफन्तले सरस्वतीनगर क्षेत्रमा दैनिक आन्दोलन गरिरहेका थिए ।
प्रतिक्रिया