काठमाडौं, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।
राप्रपाले बुझाएको ज्ञापनपत्रमा छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
यस्तै छानबिनमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्नेसमेत राप्रपाले बताएको छ ।
त्यस्तै राप्रपाले विगतका ठूलठूला भ्रष्टाचार काण्डका फायलहरू खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण निर्माण गर्न माग गरेको छ ।







प्रतिक्रिया