काठमाडौं, ३ वैशाख । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका छन् ।
वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८:३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोडेका हुन् ।
सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा गएका गएका कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर विश्वलाई सुरक्षित आरोहणको सन्देश दिएका छन् ।
सगरमाथाको आधार शिविरमा रहेका इमाजिन नेपाल ट्रेक्स एण्ड एक्सिपीडिसन कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाका अनुसार कामीरिताको विश्वकीर्तिमान कायमसँगै यो याममा हालसम्म एक सयभन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । झण्डै एक सय आरोही यतिखेर सगरमाथाको हिलारी स्टेपभन्दा माथितिर लामबद्ध छन् । उनीहरु आज साँझसम्म चुचुरोमा पुग्ने जनाइएको छ ।
पर्यटन विभागका निर्देशक युवराज खतिवडाले कामीरिता शेर्पाले सगरमाथा आरोहणमा विश्वकीर्तिमान बनाएको बताए । उनका अनुसार करिब एक सय आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् भने आज थप एक सय आरोही चुचुरोमा पुग्ने अनुमान छ ।







प्रतिक्रिया