१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ऐतिहासिक राणाकालीन नारायण दरबारमा घाँस उम्रदै 



यस्ता प्रकारका ऐतिहासिक संरचना आफ्नै आँखा अगाडि भत्किएको देख्दा दुःख लाग्छ
११ जेठ । ललितपुरको जावलाखेलमा जुद्ध शमशेरले उनका कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरिएको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ ।
विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको उक्त भवनमा अहिले बोटबिरुवा उम्रेका छन् । अबको दिनमा नारायण भवनको भविष्य के हुने हो कसैलाई थाह छैन ।
भूकम्पका कारण राणाकालीन दरबार संरचना नारायण भवनको पूर्वतिरको भाग पूरै भत्केको छ । छाना भत्किन लागेको छ । पीपल, उत्तिसलगायतका बिरुवा उम्रेर र भवनको अस्तित्व हराउँदै गइरहेको छ । ऐतिहासिक दरबार संरचनाको पुनःनिर्माणको लागि कुनै पनि जिम्मेवारी निकायबाट पहल भएको छैन ।
पुनःनिर्माणका लागि पुरातात्विक विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्राचार गरेको तर ऐतिहासिक दरबार संरचना नारायण भवन निर्माणका लागि पहल नगरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदय खनालले दुखेसो पोखे ।
“नारायण भवन एउटा ऐतिहासिक भवन हो । यसको संरक्षण गर्ने राज्यको जिम्मेवारी हो तर राज्यले ऐतिहासिक संरचणाको संरक्षण र पुनःनिर्माणका लागि चासो देखाएको छैन”, उनले भने, “यस्ता प्रकारका ऐतिहासिक संरचना आफ्नै आँखा अगाडि भत्किएको देख्दा दुःख लाग्छ ।”
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका एक कर्मचारीका अनुसार, नारायण भवनमा विसं २०५१ देखि महिला विकास प्रशिक्षण केन्द्रको कार्यालय त्यहाँ रहेको थियो ।
महिला विकास प्रशिक्षन केन्द्रकोे कार्यालय त्यहाँबाट अर्को ठाउँमा सरेपछि राष्ट्रिय पञ्जीकरण विभागको कार्यालयल त्यहाँ थियो । विसं २०७२ को भूकम्पले ऐतिहासिक दरबार संरचनामा क्षति पु¥याएपछि राष्ट्रिय राष्ट्रिय पञ्जीकरण विभाग त्यहाँबाट अर्को ठाउँमा सर्न बाध्य भएको थियो ।
राणाकालीन दरबार संरचना नारायण भवनअन्तर्गतको १६ रोपनी १४ आनामा फैलिएको जग्गा हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा छ । नारायण भवन, स्टिल टावर र त्यहाँ छेवमै रहेको नर्सरीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले भाडामा दिएको छ ।
विसं २०७६ चैत ५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा रहेको महिला विकास प्रशिक्षण केन्द्रको भवन, चमेना गृह र प्रशिक्षण हल तालिम परियोजनका लागि मात्र प्रदेश सुशासन केन्द्रलाई हस्तान्तरण गरेको सूचना अधिकारी कृष्णप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, “बागमती प्रदेश सञ्चार रजिष्टारको कार्यालय पनि रहेको छ तर त्यो विषयमा हामीलाई जानकारी छैन ।”
“कुनै समय आफू कार्यरत रहेको ऐतिहासिक भवन दिनप्रतिदिन जीर्ण हुँदै गएकामा दुःख लाग्छ”, एक कर्मचारीले भने, “त्यहाँ धेरै महँगा काठ थिए । महँगा सामान पनि थिए तर उचित संरक्षण नगर्नुले ती सबै हराउँदै गइरहेका छन् । राज्यले यस्ता इतिहास बोकेका दरबार संरचनालाई संरक्षण तथा पुनःनिर्माणको पहल गर्नुपर्ने हो तर भूकम्प गएको दशक बित्न लाग्यो अझै पहल भएको छैन ।”
दिनप्रतिदिन जीर्ण हुँदै गएको राणाकालीन दरबार संरचना भत्किँदै गएको छ । घाँसले छोपिँदै गएको छ । संरक्षण नभएको कारण त्यहाँका काठ र अन्य सामान विस्तारै चोरी हुँदै गएका छन् । अस्तित्व हराउँदै गएको छ । सरकारले ऐतिहासिका संरचनाको पुनःनिर्माणका लागि पहल अझै गर्न सकिरहेको अवस्था छैन । हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठा नारायण भवन पुनःनिर्माणको प्रतिक्षामा छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १२ : ३० बजे