२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय



२४ जेठ । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिएको जानकारी दिइन् ।

यस्तै बैठकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय भएको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वे का लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृत दिने निर्णय गरेको छ ।

मन्त्री शर्माले जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रो पोलिस वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।