२७ जेठ । नेपाली चलचित्र हेर्ने दर्शक पछिल्लो समय मन खिन्न बनाएर हलबाट बाहिन्छिन् । उनीहरु चलचित्र हेरेपछि चित्त बुझाउनै सक्दैनन् । चलचित्रको अन्त्य(क्याइमेक्स) दर्शकको लागि चित्तबुझ्दो हुँदैन ।
चलचित्र हेर्ने धेरै दर्शकले कथा नै दर्शकले बुझ्दैनन् । मैले कस्तो चलचित्र हेरें ? चलचित्रले भन्न खोजेको के ? अनि यो चलचित्र किन बनाइयो ? अनि देखाइयो ? कयन् दर्शकका मनमा यस्तै अनगिन्ती प्रश्न हुन्छन् । कक्षा कोठामा पुरातन विचार भएको शिक्षकले विद्यार्थीलाई पढाएजस्तो ।
सारमा भन्नु पर्दा चलचित्रको कथामा थुप्रै कमजोरी हुन्छन् । धेरै चलचित्रमा कुण्ठा हुन्छ । तपाईहरुले यो विषयलाई यसरी बुझ्नुपर्छ भनेजस्तो ।
चलचित्रहरुको भीडमा शुक्रबारबाट चलचित्र ‘वेल कम टु हेम्जाकोट’ देशभरका हलहरुमा प्रर्दशनमा आएको छ ।
गतमंगलबार भव्य प्रिमियर शो मार्फत चलचित्रको प्रचारप्रसार गरिएसँगै चलचित्रका दर्शकले औपचारिक प्रतिकृया दिन थालेका छन् ।
कमेडी जनरामा निर्माण गरिएको चलचित्र ‘हेम्जाकोट’ एउटा सानो गाँउका वेरोजगार युवाहरुको कथा हो । गाँउको साधारण परिवेश चलचित्रले देखाउने कोशिस गरिएको छ । चलचित्र हेरिरहँदा दर्शकलाई नितान्त मनोरञ्जन दिन खोजेका भान हुन्छ । चलचित्रमा खास कथा छैन । मध्यान्तरसम्म चलचित्र कथामा बग्दैन । गाँउका ठिटाको विभिन्न हर्कतमै अल्झिन्छ ।
चलचित्रमा कमेडी घुसाउन खोजिएको बुझ्न गाह्रो पर्दैन । कमेडीको लेपन लगाउन खोजिए पनि डेव्यु निर्देशक सरोज पौडेलको प्रयास विफल छ । चलचित्र हेर्दा दर्शकको हाँसोका पर्रा छुट्दैन। मुसुक्क मुस्कान मात्रै छाड्छन् ।
मध्यान्तरअघि चलचित्रको कथा के हो ? दर्शकले भेउ नै पाउदैनन् । कलाकारहरुको हर्कत हेर्दा हेर्दै दर्शक निदाउने खतरा हुन्छ । सानोतिनो टेलिफल्म हेरेको दर्शकलाई भान हुन्छ ।
चलचित्रमा चर्चित गायिका इन्दिरा जोशी र अस्मिता अधिकारीको स्वरमा रहेका गितहरु सुमधुर छन् । लाई ‘मायाँको रेडियो’ र ‘सेलको वासना’ गीतले दर्शकको मन भुलाउन सफल छ । ‘मायाँको रेडियो’लाई सुन्दर सेटमा छाँयाकन गरिएको छ भने सेलको बासनामा तिहारको भैलिनी खेलिएको छ । चलचित्रमा गीतले मनोरञ्जनात्मक मसला दिएको छ । तर सामान्य किसिमको ।
चलचित्रले गति मध्यान्तरपछि मात्रै समातेको छ । कथाको रोमाञ्चक मोड त्यसपछि दर्शकले अनुभव गर्न पाउँछन् ।
चलचित्रमा द्वन्द्व हेर्नलायक छ । चलचित्र समाप्त हुनुअघि रोमाञ्चकता प्रदान गर्छ । अभिनेता विनोद (हेमन्त पात्र)वैदेशिक रोजगारीमा जाने क्रममा विमानस्थलबाट उड्नुअघि भेटाएको एक झोला पैसा चलचित्रमा दर्शकमा कौतुहल बढाउछ ।
अभिनेता विनोद न्यौपानेले चलचित्रलाई उत्कृष्ट बनाउन सक्दो अभिनय क्षमता देखाएका छन् । गाँउ घरमा युवाहरु बेरोजगार छन् भन्नु बाहेक चलचित्रले दर्शकलाई खास शिक्षा केही पनि दिदैन । कमेडी पनि भद्दा छ ।
पुराना र चल्तीका कलाकार चलचित्रमा छैनन् । त्सैले स्टारले चलचित्र चलाउने सम्भावना छैन । पुराना अनुहार देखिएका कलाकार बुद्धि तामाङ,सरोज खनाल,जयनन्द लामालगायत केही कलाकार पर्दामा देखिन्छन् । अधिकाशं कलाकार नयाँ छन् । तर कलाकारको अभिनयमा खोट लगाउने ठाँउ छैन । औसत छ ।
चलचित्रमा कथा र निर्देशकले के देखाउन खोजे बुझ्न सकिन्न । कथा सरर बग्दैन गोलमटोल छ । कलाकारहरुको भीड पर्दामा देखिन्छन् । उनीहरुको भूमिका र चलचित्रमा अथै देखिन्न ।
मध्यान्तरसम्म अभिनेता विनोद न्यापाने,दिनेश खड्का,बुद्धि तामाङ र प्रदिप ढकाल र सन्दिप सिग्देलको लफडा हेर्दैमा वित्छ । चलचित्रमा फरक फरक पात्रको दुःख र व्यथा देखाउदा खास कथा रुमलिन्छ । धेरै पात्रको कथा देखाउदा चलचित्रले बाटो विराएको छ । अभिनेता विनोद न्यौपाने आफ्ना वावुसँग गरेको झगडाको धेरै दृश्य हेर्दा हेर्दै दर्शकहरु झर्को मान्छन् ।
चलचित्रले दर्शकलाई केही क्षण भुलाउछ । चलचित्र हेर्दा निन्द्रा पनि लाग्न सक्छ ।
प्रतिक्रिया