३२ जेठ । तनहुँको व्यास नगरपालिका ४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका ५ मैबल हटिया घर भई व्यास ४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास ३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
मृतक व्यास १२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिएका छन् । पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट आज पाँच दिनको म्याद थप गरिएको छ ।
विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक रङ्िगलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए ।
उपरीक्षक विष्टले भने, “जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।”
निजहरूबीच सामाजिक सञ्जालमार्फत गत वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक विष्टले भने, “शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुल्नेछ ।”
मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए ।
निज मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टको भनाइ थियो ।
प्रतिक्रिया