९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरमा परम्परागत घर लोप हुँदै



यही क्रममा नयाँ र आधुनिक संमचना निर्माण हुँदै जाने हो भने हामी नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरलाई कुनै दिन म्युजियममा खोज्नुपर्छ होला

४ असार । ललितपुर महानगरको पाटन क्षेत्रका ऐतिहासिक सम्पदा र पुराना कलात्मक शैलीका घरहरु आधुनिक संरचनाले विस्थापित गर्न थालेपछि त्यस्ता संरचना लोप हुँदै जान थालेका छन् ।

यहाँ अधिकांशले समयानुसार पुराना घरलाई भत्काएर नयाँ र आधुनिक शैलीका घर निर्माण गरेकाले परम्परागत पुराना घर निकै कम मात्रै देखिन्छन् । पाटन क्षेत्र आसपासका साँगुरा गल्लीमा टेकोले अडिएका पुराना र कलात्मक शैलीका घरको अवलोकन गर्दै विदेशी पर्यटकले तस्बिर खिचिरहेका देखिन्छन् ।
पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र साँस्कृतिक सम्पदा टेकोको भरमा अड्डिएका छन् ।
पारिवारिक भागबण्डाका साथै साँगुरो गल्लीका कारण भत्काउन नमिलेका घरहरु बाँकी छन् । दिनप्रतिदिन जीर्ण अवस्थामा रहेका कतिपय घरमा घाँस उम्रेका, पानी चुहिने र बस्नै नमिल्नेगरी भत्केका छन् ।

पुरानो भएकाले घरधनीले पनि संरक्षणमा खासै चासो गरेको देखिँदैन । मङ्गलबजार, गाबललगायत क्षेत्र आसपमासका ऐतिहासिक घरलाई विसं २०७२ को भूकम्पपछि टेको लगाएर अड्डयाइएका छन् । कलात्मक रुपमा निर्माण गरिएका ती घरमा परेवा र भङ्गेराले गुँड बनाएका देखिन्छन् ।

राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो । विसं २०७२ को गोर्खा भूकम्पले क्षति पु¥याएको आठ वर्ष बितिसक्दा पनि ती संरचनालाई टेकोको भरमा जबरर्जस्ती अड्याइएका छन् ।

 

पाटन क्षेत्र आसपासका साँगुरा गल्लीमा टेकोले अडिएका पुराना र कलात्मक शैलीका घरको अवलोकन गर्दै विदेशी पर्यटकले तस्बिर खिचिरहेका देखिन्छन्

 

ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीय ८३ वर्षीय जुलमला चित्रकारले भने, “बाजेको पालामा निर्माण भएका घर निकै बलिया हुँदा रहेछन् । २०७२ सालको भूकम्पको कारण धेरै घर ढलेपनि केही परम्परागत घर ढलेका छैनन् ।” उनले अहिले आफ्नो घर पनि टेकोको भरमा अड्डाइएको बताए ।

“दिनप्रतिदिन जीर्ण बन्दै गएको घर कतिखेर ढल्छ पत्तो नहुने भएकाले, म अहिले अर्को घरमा बस्छु । यो पुरानो घरमा कोही बस्दैन रित्तो छ”, चित्रकारले भने । उनका अनुसार यस क्षेत्रमा दिनप्रतिदिन परम्परागत संरचना भत्काएर नयाँ संरचना निर्माण हुँदैछन् ।

“यही क्रममा नयाँ र आधुनिक संमचना निर्माण हुँदै जाने हो भने हामी नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरलाई कुनै दिन म्युजियममा खोज्नुपर्छ होला?”, चित्रकारले दुखेसो गरे । सरकारले परम्परागत घरको संरक्षण गरी उचित व्यवस्थापन गर्नुपर्नेमा उनले बताए ।

सरकारले भूकम्पपीडितको लागि केही रकम अनुदान दिने निर्णय गरे पनि अनुदानमा दिने थोरै रकमले घर भत्काउन मात्रै पुग्ने स्थानीय अरुण बर्जाचार्यले बताए । “घर भत्काउन मात्र पुग्ने रकम अनुदानमा दिइन्छ । घर भत्काउनु मात्र समस्याको समाधान नभएकाले भूकम्पको अनुदानसमेत लिएको छैन”, उनले भने ।

बर्जाचार्यका अनुसार पाटन क्षेत्र आसपासका विभिन्न गल्लीमा रहेका कलात्मक शैलीका अधिकांश घर टेकोको घरमा छन् । “नयाँ घर निर्माणका लागि आर्थिक अभाव हुने तथा अंशबण्डाका लागि लागि झनझटिलो प्रक्रिया भएकाले पनि अधिकांश घर टेकोको भरमा अडिएका छन्”, उनले भने ।

इतिहास बोकेका सांस्कृतिक सम्पदा र परम्परागत घरलाई कसरी जगेर्ना गर्ने र लोप हुनबाट कसरी जोगाउने भन्नेमा यहाँका नेवार समुदाय चिन्तित छन् ।

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ४० बजे