२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा पर्याप्त रासाइनिक मल नपाएको किसानको गुनासो



१६ असार । ललितपुरका किसानले पर्याप्त रासाइनिक मल नपाएको गुनासो गरेका छन् ।
असार १५ अर्थात् धान दिवसको दिन खेतमा काम गर्दै गरेका ललितपुर महानगरपालिका २९ खोकनाका किसान ज्ञानलाल महर्जनको खेतमा राख्नको लागि पर्याप्त युरिया मल नपाएको गुनासो गरे ।
यसै ठाउँका अर्का किसान कृष्णहरि डङ्गोलले गत वर्षभन्दा यो वर्ष रोपाइँ अलि ढिलो सुरु भएको जानकारी दिए । उनले भने, “गत वर्ष समयमै पानी परेका कारण असार दोस्रो हप्ता रोपाइँ सकिएको थियो तर यो वर्ष असार १५ गते पुगिसक्दासम्म जम्माजम्मी ४० प्रतिशत रोपाइँ सकिएको छ ।”
अठसठ्ठी वर्षीय डङ्गोलले विसं २०३३ मा आफ्नो दुई रोपनी जग्गामा करिब २८ मुरी धान फलेको तर अहिलेको समयमा धान उत्पादन घट्दै गएको जानकारी दिए । उनले भने, “समयमै मल पाइँदैन । खेतीपातीको समयमा मल नपाइने भएका कारण विस्तारै उत्पादन पनि घट्दै गएको छ । पहिले २८ मुरी धान उत्पादन हुन्थ्यो भने अहिले जम्माजम्मी १८ मुरी मात्र धान उत्पादन हुन्छ ।”
गत वर्ष ५० किलो मलको मूल्य करिब रु एक हजार एक सय थियो तर यो वर्ष युरिया मलको मूल्य रु दुई हजार दुई सय परेको ललितपुर महानगरपालिका २१ खोकनाका किसान सर्विन महर्जनले दुःखेसो पोखिन् । उनले भने, “धानको लागि खेतमा मल राख्नुपर्ने समयमा मल आउँदैन । आए पनि घण्टौँ लाइन बस्नुपर्छ । घण्टौँ लाइनमा बसेर पनि चाहिने जति मल पाउन सकिएको छैन । समयमै मल हाल्न नपाउँदा हरेक वर्ष उत्पादन घट्दै गएको छ ।”
ललितपुरमा गत वर्षभन्दा यो वर्ष समयमै पानी नपरेकाले रोपाइँ ढिलो भएको छ । किसानका अनुसार असार दोस्रो हप्तासम्म धान रोपिसक्दा उत्पादन राम्रो हुनेगर्छ । यदि समयमै पानी नपरेर असार १५ भन्दा पछाडि धान रोपाइँ सुरु भयो भने उत्पादन सोचे जस्तो हँुदैन ।
आज नेपालमा राष्ट्रिय धान दिवस मनाइन्छ । विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार विसं २०६२ असार १५ गतेदेखि नेपालले राष्ट्रिय धान दिवस मनाउँदै आएको छ ।  असार १५ लाई किसानको दही चिउरा खाने विशेष दिनको रूपमा पनि लिने गरिन्छ ।
यो वर्ष ललितपुरमा असार १ गतेदेखि रोपाइँ सुरु भए पनि रोपाइँ सकिन अझै बाँकी छ । आज राष्ट्रिय धान दिवसमा किसान खेतमा व्यस्त छन् । धमाधम रोपाइँ चलिरहेको छ । विभिन्न संस्थाले हर्षका साथ धान विवस मनाए पनि किसानसँग हरेक वर्ष खेतीपातीको समयमा मल नपाउनुको पीडा छ ।
ललितपुर महानगरपालिकामा हालसम्म करिब ३५ प्रतिशत मात्र रोपाइँ सकिएको महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रा देवी पण्डितले जानकारी दिएकी छिन् । ललितपुरमा पानी भएको ठाउँमा रोपाइँ सकिए पनि भिरालो ठाउँमा खेत भएका किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।