बरु लोडसेडिङ नै भनेर ठिक समयमा बत्ती बन्द गरिदिए हामीले आफू अनुकूल खाना पकाउन सक्थ्यौ । कहिले खाना खाने बेलामा बत्ती जान्छ । कहिले तरकारी ओइरिने बेलामा । म त हैरान छु
ललितखबर
१८ साउन । आजकल देशभर कुनै लोडसेडिङ छैन । तर ललितपुरमा क्षण क्षणमा विजुली गायव हुन्छ । निरन्तर विजुली गायव हुँदा यहाँका उपभोक्ता हैरान छन् ।
समयमा विद्युत चालु नहुँदा यहाँका कलकारखाना,उद्योगधन्दा र कार्यालयहरुको काम ठप्प हुने गरेको छ ।
पछिल्लो समय विद्युत् निरन्तर अवरुद्ध हुँदा ललितपुरका उपभोक्ता सामाजिक सञ्जालमा आक्रोस पोख्दै विद्युत् प्रधिकरणका कार्यकारी कुलमान घिसिङमाथि प्रश्न उठाउने गरेका छन् ।
ललितपुर ठेचोकी लक्ष्मी महर्जनले हरेक साँझ विजुली नहुँदा खाना बनाउन अप्ठ्यारो भएको गुनासो पोख्दै भनिन्, ‘बरु लोडसेडिङ नै भनेर ठिक समयमा बत्ती बन्द गरिदिए हामीले आफू अनुकूल खाना पकाउन सक्थ्यौ । कहिले खाना खाने बेलामा बत्ती जान्छ । कहिले तरकारी ओइरिने बेलामा । म त हैरान छु ।’
हामीसँग जिल्लामा १७ बटा फिडर छन् । छोटो दुरीमा रहेका फिडरमा मर्मत गर्न सझिलो छ । लामो दुरीसम्म मर्मत गर्न समस्या छ
धेरैजसो साँझपख विजुली बन्द हुँदा विद्यार्थीहरुले सास्ती पाउने गरेका छन् । विद्यालयको गृहकार्य गर्न र पठन पाठनमा असर परिरहेको अभिभावन र शिक्षकहरु गुनासो गर्छन् । लेलेका कमल विष्ट आफुले राम्रोसँग पढ्न र गृहकार्य गर्न नपाएको दुखेसो पोख्छन् । भन्छन्, ‘विजुली बत्ती आएको दिन पढ्न र लेख्न पाउँदा खुशी लाग्छ । विजुली नहुँदा पढाईमा असर पर्ने गरेको छ ।’
ललितपुरको लगनखेल र दक्षिण ललितपुर वागमती गाँउपालिका माल्टा डाँडागाँउमा दुई वटा सवस्टेशन चालू छन् । दक्षिण ललितपुरको कोञ्ज्योसोम उन्युचौरमा सवस्टेशन निर्माण गरिएको भए पनि सञ्चालनमा आएको छैन ।
विद्युत् प्राधिकरणका चापागाँउ उपवितरण केन्द्रका प्रमुख प्रकाश बुढा भने झरि परेको बेला बाहेक अरु बेला विजुली जाने समस्या नरहेको तर्क गर्छन् । उनी शहरको काँठ क्षेत्रमा बुस कटिङ(रुख विरुवाले विजुलीको तार छोएर करेन्ट प्रवाह हुने अवस्था) नहुँदा विद्युतमा समस्या आइरहेको स्वीर्काछन् । भन्छन्, ‘काठका कुनाकाप्चामा रुखले तार छोएको हुन्छ । अनि विद्युत् ट्रिपिङ (विजुली जाने समस्या) हुन्छ ।’
दिनको धेरै पटक विद्युत अवरुद्ध हुँदा कर्मचारीलाई काम अह्राउनै नसकिने अवस्था छ
यहाँ पुरनो संरचना लामो समयसम्म कायम रहँदा समस्या आएको उनको भनाई छ । विद्युत उपभोग गर्नेको संख्या थपिदै जाने तर त्यस अनुकूल विद्युत सव स्टेशनको क्षमता नबढ्दा समस्या देखिएको हो ।
विद्युत प्राधिकरणका उप वितरण केन्द्रका कर्मचारीहरु पनि विद्युत् अवरुद्ध हुँदा हैरान हुने गरेको बताउछन् । पटक पटक विद्युत अवरुद्ध हुँने र सिमित जनशक्तिले मर्मत गर्न जानु पर्दा कार्यलयका सिनियर कर्मचारीलाई समेत काम अह्राउन समस्या छ । एक कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘ दिनको धेरै पटक विद्युत अवरुद्ध हुँदा कर्मचारीलाई काम अह्राउनै नसकिने अवस्था छ ।’
चापागाँउ उप वितरण केन्द्रका प्रमुख बुढा पुरानो संरचना र लामो दुरीसम्म विद्युत वितरण प्रणाली भएकाले पनि समस्या बढेको बताउछन् । भन्छन्, ‘हामीसँग जिल्लामा १७ बटा फिडर छन् । छोटो दुरीमा रहेका फिडरमा मर्मत गर्न सझिलो छ । लामो दुरीसम्म मर्मत गर्न समस्या छ ।’
दक्षिण ललितपुर विद्युत सहकारीका अध्यक्ष गोविन्द बजगाई भने पहाडी क्षेत्रमा विद्युत अवरुद्ध हुने समस्याको मुख्य दोष राष्ट्रिय प्रशारण लाइनलाई दिन्छन् । उन्युचौर सवस्टेशन चालु नहुँदा पनि समस्या नघटेको उनको भनाई छ ।
विद्युत सहकारीले माल्टा सवस्टेशन र लगनखेल सवस्टेशन दुवैको विद्युत चलाएर समस्या कम गर्ने प्रयास गरिरहेको उनी बताउछन् । उनी भन्छन्, ‘माल्टा सवस्टेशन केही समस्या देखिएको छ । मुख्य समस्या त नेश्नल ग्रीडको नै हो ।’
ललितपुरको लेले टिकाभैरव गोदावरी र लामाटार वरपरसम्म लगनखेल वितरण केन्द्रले सञ्चालन गरेको सवस्टेशनमार्फत विद्युत वितरण भइरहेको छ । दक्षिण ललितपुरको माल्टा सवस्टेशनमार्फत वागमती कोञ्ज्योसोम र महाँकाल गाँउपालिकामा विद्युत वितरण भइरहेको छ । वागमती ३ मा रहेको ठोस्नेखोलाको पानीबाट सञ्चालित खानीखोला जलविद्युत्को विजुली यो सवस्टेशनमार्फत वितरण भइरहेको हो । वितरणपछि बढी भएको विद्युत् कुलेखानीबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
माल्टा सवस्टेशन केही समस्या देखिएको छ । मुख्य समस्या त नेश्नल ग्रीडको नै हो
सरकारले थानकोट चापागाँउ हुँदै भक्तपुर विद्युत् प्रशारण लाइन निर्माण गरिरहे पनि ठाँउ ठाँउमा जग्गा विवादका कारण कछुवा गतिमा काम भइरहेको छ । पछिल्लो समय विद्युत वितरणका लागि सव स्टेशन निर्माण हुन नसक्दा समस्या बल्झदै गएको छ । विद्युत् प्राधिकरणले ललितपुरको हरिसिद्धि र चापागाँउमा सव स्टेशन निर्माणको तयारी गरे पनि स्थानीयको असहयोगका कारण सम्भव भइरहेको छैन । ललितपुरको विद्युतको दिर्घकालीन समस्या समाधानका लागि थानकोट चापागाँउ भक्तपुर प्रशारण लाइन निर्माण र साविकको ठाँउहरुमा सवस्टेशन निर्माण जरुरी रहेको प्रमुख बुढाको भनाई छ ।
उपत्यकाको विद्युत् प्रणालीको सुधारका लागि स्थानीयले सहयोग नगर्ने र सव स्टेशन निर्माणमा अवरोध गर्ने हो भने दुई बर्षभित्र लोडसेडिङ सुरु हुने प्राधिकरणका प्रमुख कुलमान घिसिङले केही समयअघि चेतावनी दिएका थिए ।
क्षमता बढाउने तयारी
विद्युतको माग बढ्दै गएपछि प्राधिकरणले भार क्षमता बढाउने तयारी गरेको छ । योजना अनुसार कार्यालय परिसरमा दुई वटा ट्रान्सफर्मर पनि ल्याएको छ ।
जिल्लाका धेरै ठाँउमा मोटो तार राख्ने क्रम पनि चलिरहेकै छ । विद्युत्को मोटो तार राख्दा नाङ्गो तार हट्ने प्रमुख बुढा बताउछन् ।
दुर्घटना पनि बढ्दो
गत साउन २ गते मंगलबार विहान गोदावरी ५ लेल सोर भञ्ज्याङमा मनिङ वाकमा निस्केका स्थानीय राजु सिङतानको तारमा आगो लागेर चुडिएर तत्रेको अवस्थामा करेन्ट लागेर मृत्यु भयो । साथै दुई वर्षअघि दक्षिण ललितपुरको महाँकाल १ बुखेल छापकमा पिसाप फेर्ने क्रममा विद्युतको पोलबाट करेन्ट प्रभावह भई दलचोकीका शम्भु घिमिरेको मृत्यु भएको थियो ।
बढ्दो दुर्घटना कम गर्न प्राधिघकरणले पछिल्लो समय नाङ्गो तार हटाएर प्लाष्टिकले बेरेको तार जडान सुरु गरेको कार्यालय प्रमुख बुढा बताउछन् । उनी भन्छन्, ‘तारले रुखमा छोएको सबै ठाँउमा हामी देख्दैनौं । गाँउघरबाट पहल गरेर हामीलाई खबर गरे हामी हाँगा कटेर हटाउछौं ।’
तारले छोएका हाँगा काटे पनि केही महिनामै त्यो समस्या दोहोरिने उनको भनाई छ ।
ललितपुरको लगनखेल वितरण केन्द्रबाट जिल्लाभरको विद्युत सञ्चालन भइरहेको छ । चापागाँउ, गोदावरी र लूभूमा उपवितरण केन्द्रमार्फत विद्युत वितरण र मर्मत चालू छ ।
प्रतिक्रिया