ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारणसभाले यही असोज १९ र २० गते नयाँ नेतृत्व पाउदैछ । ललितपुरको आर्थिक सरोकार राख्ने उद्योगी व्यावसायीहरुको यस संगठनमा लामो समयदेखि संलग्न ललितपुरका उद्यमी रविन्द्रराज ताम्रकार संघको प्रत्यासीको रुपमा अघि बढेका छन् ।
आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवारी घोषणासँगै ताम्रकार झन्डै ३० वर्षदेखि संघमा आबद्ध छन् ।
संघको पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका ताम्रकारसँग पछिल्लो १६ वर्षदेखि कार्यसमितिका विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । ललितपुरको उद्यमी व्यावसायीहरुको हक हित र प्रबद्धनको सन्दर्भमा संघलाई अघि बढाउने सन्दर्भमा ताम्रकारको योजना र प्रतिबद्धताको सन्दर्भमा ललितखबरका संवाददातासँग गरिएको कुराकानीको सम्पादित सार :
ललितपुर उद्योग बाणिज्य संघमा तपाईको उम्मेदवारी किन दिनु परेको हो ?
उद्योग वाणिज्य संघमा करीब ३० वर्षदेखि आबद्ध छु । संघका विभिन्न समितिमा बसेर १६ वर्षदेखि अनुभव बटुलेको छु । कार्यसमिति सदस्य, प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको भूमिका निर्वाह गर्दा संघलाई सही नेतृत्व दिनसक्ने खुबी मसँग रहेको अनुभव गरेर अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ । लाग्छ मैले ललितपुरको उद्यम क्षेत्रको हक हित र प्रबद्धनमा संघलाई खास योगदान दिन सक्छु ।
ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउन एउटा सक्षम नेतृत्वको खाँचो तपाई जस्तो व्यक्ति चाहिन्छ भनेर धेरै व्यावसायी साथीहरुको हौसलाका कारण नेतृत्व गर्ने आँट लिएर अघि बढेको हुँ ।
तपाईको संघमा बसेर कस्ता कस्ता काम गरेको अनुभव छ ?
संघमा आबद्ध भएदेखि नै संगठन विस्तार, प्रचारप्रसार लगायत समितिको जिम्मेवारी पाएँ । मैले संघको प्रचार प्रसारलाई थप व्यवस्थित गर्ने काममा सफलता पाएको चर्चा सुनेको छु ।
मैले ललितपुरमा ठूला मेला महोत्सवको जिम्मेवारी लिएर काम गर्दै आएको छु । ललितपुरका व्यावसायीहरुको सम्बन्ध देत्रभित्र र अन्तरराष्ट्रिय स्तरमा समेत सम्बन्ध विस्तार गर्नुपर्छ भनेर एपीओ (एसियन प्रडक्टिभिटी अर्गनाइजेशन) नामक जापानी संस्थासँग सम्बन्ध बढाएको छु । हाम्रा कार्यक्रमबारे सदस्य वा गैरसदस्य सबैले जानकारी पाउनुपर्छ भनेर ‘अर्थ बुलेटिन’ तथा स्मारिका प्रकाशनका काम पनि गर्दै आएको छु ।
म कार्यसमितिमा रहेकै ललितपुरमा भएका सहकारीलाई समेटेर सहकारी गोष्ठी आयोजना गरेको थिएँ ।
म वरिष्ठ उपाध्यक्ष भएकै बेला ‘प्रडक्टिभिटी अवार्ड’को शुरूआत भयो ।
अध्यक्षको रूपमा संघमा विजयी भएपछि संघमा कस्ता योजना अघि बढाउने छन् ?
संघ जिल्लाका सम्पूर्ण संघको अभिभावक बनेर अघि बढ्नु पर्ने आवश्यकत्ता छ । सबै संघहरुसँग मिलेर काम गर्ने योजना बनाएको छु ।
जिल्लाभरि नै यसको कार्यक्षेत्र विस्तार गर्नु पर्ने आवश्यकत्ता छ । दूरदराजका उद्योगी व्यवसायीले समेत ‘हाम्रो संरक्षक संस्था छ’ भन्ने अनुभूति गराउन मेरो प्रयास रहनेछ ।
संघको राम्रो छविलाई कायम राख्दै दक्षिण ललितपुर विकट स्थानमा औद्योगिक तथा व्यावसायिक पूर्वाधार पु¥याउने र स्थानीय उत्पादनको बजारीकरण गर्दै औद्योगिकीकरणमा सघाउने काम संघले योजनाका कामहरु अघि बढ्नेछन् ।
ललितपुरका पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा संघले महत्त्वपूर्ण काम गर्न बाँकी छ ती काम अघि बढ्नेछन् । यस्तै छम्पीमा ‘टुरिजम हब’ रुपमा विकाश गर्ने र लुभु ठैबमा टेक्टायल उत्पादनको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारीकरणमा काम गर्न जरुरी देखेको छु ।
ललितपुरका सहकारी क्षेत्रमा समस्या देखा परेका छन् । यसमा संघको कस्तो भूमिका रहन्छ ?
सहकारी विभागलगायतले नीतिगत रूपमा नियमन नहुँदा केही समस्या देखा परेका छन् ।
सहकारीलाई सही बाटो देखाएर अघि बढाउने नीतिगत नियम पनि नहुँदा अहिलेको समस्या आएको हो । त्यसैले राम्रो काम गरेका सहकारी पनि त्यसकै कारण समस्यामा परेको देखिएको छ । पछिल्लो समय उद्योगी व्यवसायी पनि सहकारीमा जोडिएका छन् । सहकारीको संरक्षण गर्दा व्यवसायीको लगानीको सुरक्षा हँुदा हामीले यस क्षेत्रमा पनि काम गर्नु जरुरी छ । यसको लागि पहल गर्ने योजना छ ।
उद्यमी व्यवसायीको लगानी तथा व्यवसाय सुरक्षाका कस्तो पहल गर्नुहुन्छ ?
उद्योगी व्यवसायीको समस्या र गुनासो सरकारले सम्बोधन गरेको छैन । विभिन्न बहानामा उद्योगी व्यवसायीमाथि सरकार शोषण गर्दै आएको छ । कोरोनाको बेला उद्योगी व्यवसायीले सरकारलाई सहयोग गरे तर आर्थिक मन्दै आएको यो बेला सरकारले सहुलियत दिएर सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा कर असुलीमा मात्रै केन्द्रित भएको छ । यस्तो अवस्थामा सशक्त रूपमा अघि बढ्ने नेतृत्व जरुरी देखेको छु ।
ललितपुरमा व्यवसायीको अवस्था कस्तो छ ?
ललितपुरमा साना मझौलादेखि ठूला औद्योगिक घराना छन् । यहाँ देशकै ठूलो चौधरी ग्रुप, पञ्चकन्या ग्रुपलगायत व्यावसायिक प्रतिष्ठान छन् । ललितपुरमै रहेर पनि हामीले ती घरानाबाट फाइदा लिन सकेको छैनौं ।
यहाँ रहेका अन्य साना ठूला व्यावसायीहरुलाई पनि समेट्न बाँकी नै छ । अर्कोतिर सरकारले व्यवसायीका समस्या समाधानमा चासो नदिने, करका लागि निचोर्ने गरेको छ । प्रदेश सरकार, संघीय सरकार, स्थानीय सरकारसँग समन्वय गर्दै व्यवसायीका समस्या समाधान गर्न संघमा योग्य, जरुरी देखेको छु ।
तपाईं कुन व्यवसायमा संलग्न हुनुहुन्छ ? व्यावसायको अवस्था कस्तो छ ?
मेरो पुख्र्यौली पेशा नै तामापित्तल हो । हामी तामापित्तलका हस्तकला सामग्री उत्पादन गर्दै देशभित्र र देशबाहिर समेत निर्यात गर्छौँ ।
पछिल्लो समय तामापित्तलको प्रयोग एकदमै घटेर गएको छ । विवाहमा उपहार दिने परम्परागत प्रचलन पनि हटेर गएको छ । परम्परागत भाँडाकुँडा प्रयोग नहुँदा हाम्रो संस्कृती र रितिथिनी नै बिग्रदै गएको छ । आधुनिकताको नाममा परम्पपरा र संस्कृतीमा नै आँच आएको छ । सरकारले पनि यसको प्रर्बद्धनमा खासै सहयोग गरेको छैन ।
तर तामापित्तलको हस्तकला स्वदेशमा विदेश दुवैमा माग छ । नेपालीहरूमा पनि डेकोरेसनका लागि हस्तकला प्रयोग गर्ने क्रम बढेर गएको छ । यो व्यावसायमा पुस्तान्तरणमा भने समस्या छ । बाबुबाजेले गरेको काम छोरानातिले नगर्ने, बरु थोरै कमाइ भए पनि जागिर नै गर्न खोज्ने प्रवृत्ति देखिएको छ । देश आयातमा निर्भर रहेको अहिलेको अवस्थामा उद्योग बाणिज्य संघले हस्तकलामा काम गरेर नयाँ पस्तालाई उज्वल भविश्य देखाउन थुप्रै काम गर्न आवश्यक छ । यसका लागि योजना बनाएरै अघि बढ्ने सोच राखेको छु ।
प्रतिक्रिया