१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको खोकनामा आजदेखि श्री रुद्रायणी देवीको १२ वर्ष मेला सुरु



२९ असोज । आजदेखि ललितपुरको खोकनामा श्री रुद्रायणी देवीको बाह्र वर्षे मेला सुरु हुँंदैछ ।
बाह्र वर्षमा एकपटक आज असोज शुक्ल द्वितियाको दिनबाट सुरु हुने श्री रुद्रायणी देवीगणहरु विभिन्न स्थानहरुमा द्यो काः वनेगु (भगवान लिन जाने) गर्दछन् ।
रुद्रायणी मन्दिरमा रुद्रायणी देवगणहरुलाई एक महिनाका लागि विधिवत पूजाअर्चना गरी ‘द्यो कुनेगु’ (गुप्तवास) चलन छ ।

जात्राबारे ललितपुरको खोकनामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिइए अनुसार जात्राका क्रममा काठमाडौंको पचली भैरव, पुरानो खोकनाको देवी सिद्धकाली मन्दिरमा अवस्थित रुद्रायणी, बालकुमारी पाटनमा कौमरी, कीर्तिपुर चोभारमा रहेको जलविनायक, हलुमान, न्हसिकाप, कुसुन्तीमा कुमार, नेखुमोलमा ब्रम्हायणी देवी, नख्खुस्थित विष्णुदेवी, पशुपतिको महेश्वरी, बल्खुको इन्द्रायणी, बज्रबाराही, गुह्येश्वरी, महालक्ष्मी, आकाश भैरवलगायतका शक्तिपीठमा पूजा गरिन्छ ।

रुद्रायणी मन्दिरमा राखिएको रुद्रायणीदेवीलाई रुद्रायणी देवगणहरुबाट एक महिनाका लागि विधिवत रुपमा पूजा अर्चना गरी द्यो कुनेगु (देवता देखाउने) गरिन्छ । त्यसपछि खोकनाभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टिका, घण्टी बजाउने, मनोरन्जनात्मक कार्यहरु गर्ने, भोज भतेर आदिमा कार्यहरु पूर्ण रुपमा प्रतिबन्ध लगाइन्छ । राति देवतागणहरुमध्ये कुमारी र वामुख्या द्यो श्री खण्ड भवानी मन्दिरमा विराजमान श्री खण्ड भवानीलाई विधिवत रुपमा पूजापछि मन्दिरबाट बोकेर खोकनाको क्वेलाछीमा अवस्थित नाःस द्यो मन्दिरमा आफ्नो शक्ति सञ्चयका लागि गोप्य रुपमा प्रतिस्थापन गरिन्छ । सोमबारबाट जात्रा सुरु हुने भए पनि मुख्य जात्रा असोज शुक्ल तृतीय (मंगलबार) हुन्छ । मंगलबार चोखो राँगा को बली दिएर देःसा (देःया) मनाइन्छ ।

रुद्रायणी गुठीका सचिव बुद्धी डंगोलका अनुसार प्रत्येक वर्ष श्री रुद्रायणी देवीको जात्रा गाईजात्राको भोलिपल्ट सुरु हुन्छ ।
यो समयमा रुद्रायणी मन्दिरभित्र रहेका सबै देवीदेवताहरु गुफामा रहेको हुन्छ ।

ललितपुरको ठेचो र हरिसिद्धिमा गतबर्ष नै जात्रा मनाइएको छ । २०८४ सालमा रातो मछिन्द्रनाथको जात्रा मनाइन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : १५ बजे