ललितखबर
३ मंसिर । केही बर्षअघिसम्म तराईमा मात्रै मनाइने छठ पर्व काठमाडौं उपत्यकामा धुमधामका साथ मनाउन थालिएको छ ।
ललितपुरको नख्खु, गोदावरी र कर्मनासा खोलामा पनि छठ उत्हासका साथ मनाइएको छ ।\
ललितपुरको नख्खुस्थित नख्खु खोला, हरिसिद्धिस्थित कर्मनासा खोला, शंखादेवि, टिकाथली र बाँडेगाँउस्थित गोदावरी खोलामा तराई मधेसी समुदायले छठ मनाएका हुन् ।
दश बर्षदेखि छठ मनाउन थालिएको ललितपुरको नख्खुमा आइतबार भीड देखियो । गतबर्षदेखि ललितपुरको टिकाथलीमा सुरु भएको छठका ब्रतालु यो बर्ष झन् बढेको आयोजक बताउछन् ।
ललितपुरको नख्खु खोलामा पवित्र धार्मिक उत्थान सेवा समिती नेपालले विगत १० बर्षदेखि छठ पर्वको व्यवस्थापन गरिरहेको छ । संस्थाका अध्यक्ष हिरालाल साह हरेक बर्ष छठ मनाउनेहरु बढ्दै गएको बताउछन् । बर्षे भेलले खोला कटान गर्दा यो बर्ष धेरै ठाँउमा छठ मनाउन नपाएको उनी बताउछन् । भन्छन्, ‘घाट बनाउन सके हामीलाई धेरै सझिलो हुन्थ्यो ।’ नख्खुमा अघिल्लो बर्ष २८ वटा स्टल बनाइएको भए पनि यो बर्ष २४ बटा मात्रै स्टल बनाइएको अध्यक्ष साह बताउछन् ।
संस्थाले लगनखेलमा हरेक बर्ष नवदुर्गा पूजा र नख्खुमा छठ पूजा आयोजना गर्दै आएको छ ।
ललितपुरको हात्तीबन नजिकै कर्मनासा खोलामा छ जना ब्रतालु भेटिए । पाँच बर्ष अघि छठ पूजा सुरु भएको यहाँ धिमा गतिमा ब्रतालु बढ्दैछन् । कर्मनासा खोलामा रितेश झा अघिल्लो बर्ष दुई जना मात्रै ब्रत बसेको अनुभव सुनाउदै उनी भन्छन्, ‘घाट बनाएर प्रचार गर्न सके छट मनाउने बढ्छन् ।’
गोदावरी खोलामा ललितपुर लुभु शंखादेविस्थित गोदावरी खोलामा चन्द्रदेव ठाकुरको परिवारले पहिलोपल्ट छठ मनाए । ठाकुरले सुरु गरेको छठ पूजा आउँदो बर्ष बढ्ने बताउछन् । उनकी श्रीमती लिला ठाकुर भन्छिन्,‘घर नजिकै छठ मनाउन मन लाग्यो । टाढा जान मन लागेन ।’
गोदावरी खोलाकै बाँडेगाँउ नजिकै गोदावरी खोलामा पनि यो बर्ष धुमधामका साथ छठ मनाइयो । पुजास्थलमा भेटिएका अरुण गुप्ता रातभर खोलाको किनारमै बसेर पुजा आराधना गरेको बताउछन् । भन्छन्,‘हामी २५ जना ब्रतालुले यो बर्ष छठ मनाएका छौं । अर्को बर्ष झन् धुमधामका साथ छठ मनाउने हो । छठ बनाउने समुदाय निरन्तर बढ्दैछन् ।’
यहाँ अस्थायी घाट बनाएर पुजास्थल झिलिमिलि बत्तीले सझाइएको थियो ।
उता टिकाथली र चाँगाथली पुलमा पनि छठ मनाउने भीड देखियो । अघिल्लो बर्षबाट प्रारम्भ भएको छठमा ब्रतालु बस्ने ठाँउ समेत थिएन । महालक्ष्मी ५का वडाध्यक्ष कपिल केसी करिडोर नबनाई व्यवस्थित गर्न नसकिने अवस्था रहेको बताउछन् । भन्छन्,‘डोजर लगाएर ठाँउ बनाइदियौं । थोरै ठाँउमा छठ मनाउनेको भीड आएका छन् ।’
राजधानीमा केही बर्षदेखि मनाउन थालिएको छठ पर्व पछिल्लो समय निरन्तर रुपमा आकर्षण बढ्दै गइरहेको छ । राजधानी तलाउ र खोला नालामा छठ बनाउनेहरुको भीड बढ्न थालेको छ ।
प्रतिक्रिया