ललितखबर
११ मंसिर । दक्षिण ललितपुर बुखेलका किसान सन्तोष तिमल्सिना आजकल बारीमा फलेको काउली भैसीलाई खुवाउछन् ।
भैसीलाई घाँस नभएर होइन । पाखो बारीमा मगग्गे घाँस छ । बजारमा बेच्दा नाफा नभएपछि उनले काउली भैसीलाई खुवाउने गरेका हुन् ।
उनले ९० हजार भाडा तिरेर बारीमा काउली लगाए । डेढ लाख खर्चेर काउली फलाए । तिमल्सिना भन्छन्, ‘कालीमाटीमा किलोको ८ रुपैयाँमा बिक्छ । भाडा लोड अनलोड र पाष्टिक खर्चले धान्दैन ।’
उनको झण्डै १२ देखि १३ हजार किलो काउली खेर जाने अवस्था आएको बताउछन् ।
महाकाल गाउपालिका १ बुखेलका वडाध्यक्ष रामप्रसाद घिमिरे गाँउपालिकाले किसानको तरकारी बजारीकरणका लागि कुनै पनि काम नगरेको स्वीकार गर्छन् । भन्छन्, ‘विचौलियाले किसानलाई दुःख दिएको देखेर हामीले गाँउपालिकामा कोल्डस्टोर बनाउने योजना पनि बनाएका थियौं । तर संघ र प्रदेशले बजेट दिएन । काम भएन ।’
कोल्ट स्टोर बनाउन पनि दुई चार करोड खर्च लाग्ने उनको भनाई छ । ‘गाउपालिकासँग आफ्नो श्रोत९बजेट० छैन’वडाध्यक्ष आफै गुनासो पोख्छन् । वडाध्यक्ष घिमिरेले पनि बारीमा काउली लगाएका छन् । उनको बारीमा काउली फुल्न थालिसक्यो । बजारमा भाउ नपाउने अवस्था देखेपछि आफू पनि घाटामा जाने निश्चित भएको भन्दै घिमिरेले चिन्ता व्यक्त गरे ।
महाँकाल गाँउपालिकाको वडा नम्बर १ मा पर्ने बुखेलमा सन्तोष तिमल्सिनाले झैं झण्डै ६ सय रोपनी बारीमा किसानहरुले काउली लगाएका छन् ।
पछिल्लो समय दुई वटा गाडीले काठमाडौंको कालीमाटीमा यहाँको काउली ल्याउने गरेको छ । बजारमा भाउ घटेपछि मुस्किलले २ रुपैयाँ प्रतिकेजी दिने गरेको एक व्यापारीले नाम नलेख्ने शर्तमा बताए । उनी भन्छन्, हामीलाई नै घाटा लाग्छ । सधै तरकारी व्यापार गर्ने भएकाले भाउ घटेको बेला किन्दिन भन्न पनि नमिल्ने ।
दक्षिण ललितपुरको कच्ची सडकबाट मिनीटाटा गाडीमा झण्डै ७० किलोमिटर टाढा बुखेलबाट कालीमाटी तरकारी ल्याउदा किच्चिएर बिग्रने व्यापारहरु पिडा सुनाउछन् ।
११ मंसिर २०८०, सोमबार
4k
Shares
प्रतिक्रिया