९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘दयारानी’ : सामाजिक यौन मनोविज्ञानको कथा



ललितखबर
२९ माघ । समाजका कथालाई टपक्क टिपेर विरलै चलचित्र निर्माण हुन्छन् । कल्पनाशीलता र नाटकीयशैलीका चलचित्र हेर्न मन पराउने नेपाली दर्शकका लागि समाजका कथा र व्यथा पनि चलचित्रको दरिलो विषयबस्तु हुनसक्छन् । डेव्यु निर्देशक माओत्से गुरुङले यस्तै सामाजिक कथा खोजेर चलचित्र दयारानी निर्देशन गरेका छन् । यो चलचित्र दयारानी शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ ।
चलचित्रको कथा साधारण छ । हाम्रै वरिपरि देखिने घटना र पात्र झैं लाग्ने चलचित्र दयारानीका कलाकारहरुले अव्वल अभिनय गरेका छन् । समाजमा छरिएर रहेको सामाजिक यौन मनोविज्ञानलाई चलचित्रमा उतारिएको छ ।
धेरै नेपाली चलचित्रमा महिलाको दुःख पिडा अनि संर्घष देखाइएको पाइन्छ । तर चलचित्रमा नाम दयारानीको महिला पात्रबाट लिइएको भए पुरुषहरुको संर्घषको कथा देखाइएको छ । चलचित्र दयारानीमा पुरुष चरित्र दयाहाङ र विजय बरालले गज्जवले निभाएका छन् ।
चलचित्रमा बाँसुरी र डम्फु धुनले गाँउले परिवेशको आभास दिन्छ ।
दयारानीले आममान्छेको यौन जीवनलाई व्यावहारिक ढंगले उठान गरेको छ । हाम्रै समाजभित्र यत्रतत्र देखिने यस्ता समस्यालाई गम्भिर ढंगले उठान गर्दै चलचित्रलाई तार्किक निष्कर्णमा पु¥याएर निर्देशक माओत्सेले टुंगाएका छन् । चलचित्रमा निर्देशक माओत्सेले सिक्वेल बनाउन ठाँउ राख्न पनि सफल छन् ।
चलचित्र कथामा बाटो नबिराई सलल बगेको छ । अनावश्यक दृश्य चलचित्रमा राखिएको छैन । चलचित्रमा पात्र पनि थोरै छन् । किफायती कथा छ । लम्बेतान बनाइएको छैन । मध्यान्तरअघिसम्म चलचित्रले मनोरञ्जनसँगै हँसाउने दृश्यमा दर्शकको ध्यान तानेको छ भने मध्यान्तर पछि अब के होला ? भन्ने कोतुहल जगाउछ ।
चलचित्रमा थुप्रै कमी र कमजोरी पनि छन् । चलचित्रमा गीत संगीतको खास प्रभाव छैन ।‘थोरै थोरै तिम्रो बोली’ बोलको गीतले चलचित्रको कथा भन्न सहयोग गरेको छ । ‘चिरि च्याट्टै’ बोलको गीतमा अभिनेता दयाहाङले मुस्किलले जीउ हल्लाएका छन् । नाचेका छैनन् । चलचित्रमा डिठ्ठा मुखियाको पञ्च भेला बसेको समय र काँसी स्कूल जाँदाको फ्रक र टाई लगाइरहेको दृश्यले समयको भेद खुलेको छ ।
गुरुङ परिवेशमा चलचित्र निर्माण गरिएको भए पनि गुरुङ संस्कृती, रिजीरिवाज र चालचलनलाई चलचित्रमा निर्देशक माओत्सेले यथेष्ट ठाँउ दिएको पाइदैन । निर्देशकले पश्चिमी नेपालको राम्रो दृश्य चलचित्रमा मिसाउन भुलेका छन् ।
चलचित्रमा दयाहाङले चरा मारेर कथा उठान गरेको भए पनि किन र के का लागि चरा मारे रहस्यमै छ । उनले चलचित्रमा बोकेको हतियारको रहस्य पनि खुलेको छैन ।
पुष्कर गुरूङ
कलाकार पुष्कर गुरूङले खास नयाँ अभिनय गरेका छैनन् । उनले समाजमा विरलै पाइने एउटा चरित्रको प्रतिनिधित्व गरेकै कारण उनको अभिनय चाखलाग्दो छ । चलचित्रको ट्रेलरमै देखिन्छ उनले ज्वाईलाई अर्की श्रीमती विबाह गर्न हिडेको । उनले ज्वाईलाई विहे गराउन हिड्दा अनेकौं हण्डर खान्छन् । जसले चलचित्रलाई रोचक र सजीव बनाएको छ ।
चलचित्रमा पुस्करको पुरानै ढर्रा हेर्न पाइन्छ । उनको संवादको शैली र आउभाउ पनि दुरुस्तै छ । जुन अरु चलचित्रमा पनि हेरिएकै हो ।
दयाहाङ राई


अभिनेता दयाहाङको सदावहार अभिनय उही सोझो र निश्कपट गाँउले केटोको चरित्र यस चलचित्रमा पनि हेर्न पाइन्छ । तर उनको पुरानो ढर्राको अभिनयलाई कथाको उत्कृष्ट चरित्रले छोपेको छ ।
चलचित्र दयारानीमा दयाहाङले आफ्नो नामर्द लुकाउन गरेको संर्घष रोचक ढंगबाट देखाइएको छ ।
अभिनेता दयाहाङ ‘एक नारी ब्रम्हाचारी’ बन्न चलचित्रमा गरेको संर्घर्ष हेर्नलायक छ । लहै लहैमा लागेर परस्त्रीको पछि लाग्ने अर्को चरित्र चलचित्रमा रहेको छ । नेपाली समाजसँग पुरुषहरुलाई आफ्नो पुरुषार्थ रक्षा गर्नुपर्ने बाध्यतालाई देखाउन निर्देशक माओत्से सफल छन् ।

विजय बराल


विजय बराल पनि चलचित्रका उस्तै गाँउले पात्रको रुपमा चलचित्रमा उतारिएको छ । उनले खास नयाँ केही देखाएका छैनन । चलचित्रमा पुरुष चरित्र र यौनका विषयमा फरक क्षमता देखाएका छ् कलाकार विजयले ।
चलचित्रमा विजय बराल चित्रजंगलाई गुरुङ पोशाक लगाएर अभिनय गरेको पटक्कै सुवाएको छैन । उनको लवज र अभिनय शैली बाउन क्षेत्रीको जस्तो दुरुस्तै लाग्छ । गुरुङ बस्तीमा बसेको केटोको बोलिचाली र शैली गुरुङको जस्तै हुनु पर्ने हो । चलचित्रको यो ठाँउमा निर्देशक माओत्से चुकेका छन् ।
कलकार विजय बरालले आफ्नो मितलाई उचाल्ने,आपत पर्दा भाग्ने गाँउले केटोको चरित्र जस्ताको त्यस्तै चलचित्रमा उतारेका छन् । बिजय बराल आफ्नो मितलाई दिएको धोकापछि चलचित्रले नयाँ मोड लिएको छ ।
श्ररिष कुवँर
चलचित्रमा श्रृरिष कुवँरको भूमिका छोटो छ । उनले बोलेको संवाद कही कतै नमिलेको जस्तो सुनिन्छ । उनको अभिनय र भूमिका खासै नयाँ लाग्दैन ।
दिया पुन


चलचित्रमा दयारानी पात्रको चरित्र निभाएकी दिया पुनको अभिनय हेर्नलायक छ । महिला भएर परिवार र बंशका लागि गरेको त्याग हेर्दा पुरातन आइमाईको चरित्र उनमा भेटिन्छ । बच्चा जन्माउन सबल दयारानी ‘बैली’को बोझ बोकेर परिवारको खुशीका लागि उनले उठाएको सौताको जोखिमले नेपाली परिवेशलाई यतार्थ ढंगबाट प्रस्तुत गरेको छ ।
नयन गुरुङ
चलचित्रमा नयन गुरुङले गज्जवको अभिनय गरेकी छिन् । उनको बोल्ने शैलीले दर्शकको ताली पाउन योग्य छ । ‘ए हो र ? तपाई को हो र ?’ संवादले चलचित्रमा प्रशंसा पाउन योग्य छ ।
अन्त्यमा,रंगमञ्चमार्फत चलचित्रको सामान्य भूमिकामा अभिनय गर्दै आएका निर्देशक माओत्से गुरुङले तुलनात्मक रुपमा ‘राम्रो’ चलचित्र निर्माण गरेका छन् । अग्रजबाट सिक्दै चलचित्र निर्माण गरेको बताउने निर्देशक गुरुङले कथामा मेहनत गरेकै कारण चलचित्र हेर्नलायक बनेको बुझ्न गाह्रो पर्दैन । उनले चलचित्रको थोरै पात्र राखेर कथालाई सलल बग्ने दिएका छन् । रोचक दृश्य,पात्रको फरक चरित्र, कौतुहलपूर्ण कथा र बलियो संवादले चलचित्रलाई हेर्नलायक बनाउन निर्देशक माओत्सेको प्रयास ‘राम्रो’ छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ५० बजे