१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अगस्त्य : दर्शकलाई रनभुल्ल पार्ने चलचित्र



ललितखबर
२० फागुन । केही दिनअघि चलचित्र ‘अगस्त्य’को टिजर अनि ट्रेलर युट्युवमा सार्वजनिक भयो । चलचित्रको दृश्यहरु सार्वजनिकसँगै राम्रौ खैलाबैला नै मच्चियो ।
एक्सन जनरामा निर्माण गरिएको चलचित्र ‘अगस्त्य च्याप्टर वान’का कलाकारसँग सञ्चारमाध्यमहरुमा आएका कुराकानीले चलचित्रको चर्चा झन् चुलियो । चलचित्रकै लागि २० केजी मोटाएकोदेखि खाली सडकमा हप्तौसम्म कुदेको रोमाञ्चकारी संस्मरण संचारमाध्यमहरुमा प्रकाशन र प्रशारण भए । अभिनेता सौगात मल्ल र नाजिर हुसेनको तारिफ सर्वत्र सुनियो ।
तर चलचित्रको प्रिमियर र शुक्रबार हलमा प्रर्दशन भएसँगै चलचित्रका धेरै कुरा गफाडीको गफ झैं लाग्छन् । चलचित्र साखै बबाल थिएन । चलचित्र मध्यान्तर नआउदै दर्शकलाई बोर लाग्यो ।
चलचित्रको कमजोरी
चलचित्रमा सिमा क्षेत्रमा चेलीबेटी बेचविखनको गिरोहको तम्मेतान कथा बुनिएको छ । कथामा घुम्ती नै घुम्ती छन् । तीन पल्ट हेर्दा पनि चलचित्र अगस्त्य कथाको बुझ्न कठीन छ । चलचित्र प्रचारप्रसारपछि हलमा हेर्दा हात्ती आयो हात्ती आयो फुस्सा झैं लाग्छ ।
२ घण्टा ५० मिनेटको लामो चलचित्र हेर्दा खर्च गरेर छायाँकन गरेको चलचित्रका दृश्य काट्न सम्पादक निमेश श्रेष्ठले माया गरे झैं बुझिन्छ । चलचित्रमा देखिएका पागल भूमिका निभाएका सौर्य अर्थात सौगात मल्लको श्रृखलाबद्ध क्रुर हत्या निरन्तर देखाइएको छ । यी दृश्य देखाउन १ घण्टा २५ मिनेट खर्चिएको छ । लामो समयसम्म रहस्यले भरिएको क्रुर दृश्य हेर्दा दर्शक हैरान हुन्छन् ।
९० प्रतिशत चलचित्र हेर्दा पनि कथा बुझिदैन । यसो किन भइरहेको छ भन्दै दर्शक अन्तिमसम्म रनभुल्लमा पर्छन् । चलचित्रको रहस्य अन्तिम १० मिनेटमा बल्ल खुल्छ ।
चलचित्र राम्रो बनाउने प्रयास गरिएको भए पनि प्रस्तुतीमा कमजोरी देखिन्छ । चलचित्रमा कथामा रहस्य जरुरी छ तर मध्यान्तरअघिसम्म चलचित्रमा रहस्यमय कथा देखाइए पनि त्यसपछि एकपछि अर्को रहस्य खोल्दै गएको भए दर्शक रोमाञ्चित हुन्थे । अन्तिमसम्म चलचित्र हेर्न व्यग्र प्रतिक्षा गर्थे, शायद ।
चलचित्रमा थुप्रै खड्कने दृश्य छन् । जुन निर्देशकले सानोतिनो सावधानीले राम्रो बन्न सक्थ्यो । चलचित्रका धेरै दृश्य रातका छन् । अध्यारो रातको दृश्य निरन्तर हेर्नुपर्दा आँखा विझाउछ । दिक्दार लाग्छ । चलचित्रमा उज्यालो कम प्रयोग गरिए पनि अध्यारोमा कलात्मक दृश्य खिचिएको छैन ।
चलचित्रमा सौर्य पागल अवस्थामा फोहोरी देखाइएको छ । तर चाँदनी भने उज्यालो अनुहार धपक्क बलेकी सौर्यसँगसँगै देखिन्छन् । कथा र घटनासँग मेल नखाने यो दृश्यले दर्शकलाई पटक पटक बिझाउछ ।
चलचित्रमा चाँदनी प्रतिष्ठित पेशामा संलग्न छिन् । तर अपराधिको अघिपछि जोडिन पुगेको दृश्य दर्शकले पत्याउन नसक्ने छ । चलचित्र श्रृखलाबद्ध हत्या पट्यारलाग्दो छ । लामोसमयसम्म काटमारको दृश्यले झिजो लाग्छ । क्रुरताको हद पारेको अनुुभव हुन्छ ।
चलचित्रमा ठाँउ ठाँउमा हिन्दी भाषा प्रयोग भएको छ । तर नेपाली अक्षरमा संवाद लेखिएको छैन ।
चलचित्रमा लामा दृश्य छन् । छोटो र मिठो बनाउन कलाको खासै प्रयोग गरिएको छैन । पटकथा र संवाद ठाडो छ । मिठास भेटिन्न । प्रेमभाव व्यक्त गर्दाका संवादमा केही फरकपन हुनुपर्ने हो । तर निर्देशकले यसमा ध्यानै दिएका छैनन ।
सिनेमेट्रोग्राफर संजय लामाले छायाकनको लागि मेहनत त गरेका छन् तर कलात्मक दृश्य खिच्न बिर्सेका छन् ।
सकारात्मक पक्ष
निर्देशक सौरभ चौधरीले चलचित्र राम्रो बनाउन निक्कै मेहनत भने गरेका छन् । अभिनेता सौगात मल्ललाई हदैसम्म अभिनयको चरम विन्दुसम्म पु¥याएर अभियन गराएका छन् । यति धेरै द्वन्द्वको दृश्य सम्भवतः पहिलोपल्ट प्रयोग गरिएको छ । द्वन्द्वको दृश्य अद्भूत छ । चलचित्रको गीत संगीत राम्रो छ ।
द्वन्द्व निर्देशक श्री श्रेष्ठले गरेको मेहनत प्रशंसायोग्य छ । कोरियोग्राफर कविराज गहतराजले राम्रो कोरियोग्राफी गरेका छन् ।
सौगात मल्ल


चलचित्र राम्रो नबन्नुमा अभिनेता सौगात मल्लको कुनै दोष छैन । उनले चलचित्रको कथा अनुसारको दृश्य दिनमा कुनै कञ्जिुस्याई गरेका छैनन् । चलचित्रको सौर्य पात्र निभाएका उनी गिटी बिछ्याएको रेलको लिकमा दौडनेदेखि रक्सौलका ४८ डिग्री घाम रहेको कालोपत्र सडकमा दौडेका छन् । फोहोर कपडा र कालो लगाएको अनुहार बोकर लामो समय अभिनय गरेका छन् ।
सौगातले चलचित्रमा गज्जवको द्वन्द्वको दृश्य दिएका छन् । झुण्याइएको अवस्थामा मान्छे मारेको र नेलमा बाँधिएको अवस्थामा दुर्लभ लडाईको दृश्य दिएका छन् । चलचित्र हेर्दा अभिनेताले गरेको कष्टकर अभिनयको यो दुर्लभ दृश्य हो ।
नजिर हुसेन


चलचित्रकै लागि मोटाएका अभिनेता नाजिरको अभिनयमा खोट लगाउने ठाँउ छैन । निसानको भूमिकामा रहेका उनले चलचित्रमा दुई चरित्र निभाएका छन् । जुन न्यायपूर्ण तरिकाबाट पुरा गरेका छन् । चलचित्रमा द्वन्द्वको दृश्यमा समेत उनले आफूलाई अब्बल सावित छन् । यसपल्ट उनले आफूलाई अन्य चलचित्रको दाँजोमा फरक भूमिकामा उतारेका छन् ।
विजय बराल


चलचित्रमा कलाकार विजय बराल यादवको भूमिकामा छन् । तराईमा खिचिएको चलचित्रमा यादव पात्र हुनुको मतलव मधेसी हुल हुनु हो । तर उनको भाषाको लवज पहाडी मुलको व्यक्तिको छ ।
कलाकार बरालले प्रहरी अफिसरको भूमिका छन् । तर उनी प्रहरी जस्तो देखिदैनन् । अभिनय गरेको मिलेको छैन । हास्य र पटपटे भूमिकामा जमेका उनको अनुहारको हाउभाउ संवादको स्प्रष्ट लवज शैली अमिल्दो देखिन्छ । उनको अभिनय बनावटी जस्तो देखिन्छ ।
शिशिर वाङ्देन


कलाकार शिशिर वाङ्देन चलचित्रमा प्रहरी अफिसर कर्णबहादुर रानाको भूमिकामा छन् । बुढ्यौलीको माथिल्लो अवस्थामा रहेको उनको अनुहार प्रहरीको त्यो भूमिका विल्कुल सुहाएको छैन ।
उनले यस चलचित्रमा अभिनयको फरकपन देखाएका छैनन् । उनको बोल्ने पुरानो शैली यस चलचित्रमा पनि दोहोरिएको छ । उनका अभिनयमा नयाँ केही छैन ।
मलिका महत


एउटी सोझी केटी चाँदनीको भूमिका निभाएकी मलिका महतको खास अभिनय क्षमता चलचित्रमा देखिएको छैन । मध्यान्तरसम्म उनको संवाद सुनिदैन । एउटा पात्रको रुपमा उनी खडा भएकी छिन् । चलचित्रभर उनको भूमिका दमदार पात्रको रुपमा राखिएको छैन । औसत भूमिकामा उनले औसत अभिनय गरेकी छिन् ।
वेन बस्नेत


खल पात्रको रुपमा चलचित्रमा देखिने कलाकार वेन बस्नेतको भूमिका ट्रेलरमा देखिएको जस्तो डरलाग्दो छैन । चलचित्रमा डरलाग्दा दृश्य हेर्दा मनोरञ्जन लिने दर्शकले छिटपुट दृश्यबाहेक बस्नेतले उल्येखनीयि भूमिका र अभिनय गर्ने मौका पाएका छैनन् ।
प्रमोद अग्रहरी


रंगमञ्चमा खारिएर चलचित्रको पर्दामा उदाएका कलाकार प्रमोद अग्रहरीको प्रशंसा ट्रेलर हेर्दा नै गरिएको थियो । चलचित्रमा धेरै पात्रलाई अभिनयमा उतारिएकोले पनि हुनसक्छ,उनको अभिनय मज्जा लाग्ने गरि हेर्न पाइदैन । उनले जति ठाँउ पाएका छन् । आफ्नो खल पात्रको भूमिकामा जमेका छन् । भवानी सिंह त्रिपाठीको रुपमा उदाएका अग्रहरीले ट्रेलरको तुलनामा औसत अभिनय कला देखाएका छन् ।
सिम्रन खड्का


विमला नामकी तराई परिवारमा रहेकी सिम्रन पहाडी मुलको लवजमा बोलिरहेकी छिन् । भाषाको लवज मिदैन ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ०० बजे