१३ असार २०८१, बुधबार | Wed Jun 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनको लिच्छविकालीन सप्तपाताल पोखरी खन्ने काम अन्तिम चरणमा



पाटन (ललितपुर)
२५ जेठ । पाटनको लिच्छविकालीन सप्तपाताल पोखरी खन्ने काम अन्तिम चरणमा पुगेको छ ।

रु ३७ लाख ५० हजारमा पोखरी खन्न ललितपुर महानगरसँग भएको सम्झौताअनुसार शिव निर्माण सेवाले पोखरीमा जम्मा भएको माटो निकाल्ने काम अन्तिम चरणमा पु¥याएको ठेकेदार कम्पनीका प्रमुख रोशनकुमार थापाले जानकारी दिएका छन् । “ठेक्का सम्झौताअनुसार आगामी साउनको ३० गतेसम्म पोखरी खनेर तयार पार्नु पर्नेछ भने माटो परीक्षण प्रतिवेदनसमेत महानगरलाई बुझाउनु पर्नेछ”, उनले भने, “तोकिएको समयअगावै काम सम्पन्न गरेर महानगरलाई बुझाउने तयारी गरिरहेका छौँ ।”

लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनःनिर्माण हुने भएको छ । लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनःनिर्माणसँगै वरिपरि हरियाली रुखका रोप्ने काम सुरु भएको हो ।

पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशे पानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायत टोलीको विज्ञताका आधारमा ललितपुर महानगरले लगनखेलस्थित उक्त पोखरीको पुनःनिर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर काम सुरु गरेको थियो । सोहीअनुसार अहिले पोखरीको वरिपरि पारदर्शी बार लगाउने काम सम्पन्न भइसकेको छ ।

नमूना मच्छिन्द्र स्कुलले मिचेर बनाएका टहरासमेत भत्काएर पुनःनिर्माण गर्न ठूलो सङ्घर्ष गर्नुपरेको स्थानीय पूर्ण स्थापितले बताए । “वर्षौँसम्म छलफल र दबाब दिएपछि पोखरीलाई फिर्ता ल्याएका हौँ”, उनले भने, “सप्तपातल जोगाउन १५ वर्ष कानुनी लडाइँ लड्नु पर्याे । यहाँ पहिलाकै जस्तो पोखरी बनाउने योजना अनुसार महानगरले पहल थालेको छ ।”

पाटन सहरलाई पुनर्जीवन दिन सो पोखरी सहायकसिद्ध हुने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । “यस पोखरीमा पानी भरेपछि नजिकका पोखरी र ढुङ्गेधारामा बाह्रै महिना पानी झर्ने विश्वास छ । यस पोखरीमा पानी भर्न यहाँभन्दा १४ किलोमिटरमाथि टीकाभैरवबाट राजकुलो हुँदै पानी ल्याउने अभियान छ”, उनले भने, “सातदोबाटो चक्रपथ निर्माण हुँदा राजकुलो पुरिएपछि यहाँ पोखरी मासियो । सप्तपाताल पोखरी पनि सुकेपछि अतिक्रमण बढेको थियो । अब यसलाई जीवन्त बनाउने योजनामा लागेका छौँ ।”

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ३ : ५४ बजे