१२ असार २०८१, मंगलबार | Wed Jun 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरलाई नीतिगत सहयोग गर्ने सांसदहरुको प्रतिबद्धता



पाटन (ललितपुर)
२८ जेठ । ललितपुरबाट निर्वाचित सङ्घीय प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले नागरिकमैत्री सेवाप्रवाहका लागि ललितपुर महानगरपालिकालाई नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा महानगरद्वारा आज आयोजित ललितपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसँगको अन्तरक्रियामा सासंदहरुले पुँजीगत खर्च वृद्धि गर्न स्थानीय सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पूर्वअर्थ राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले अर्थतन्त्र चलायमान बनाउने नीति ल्याउनुपर्ने बताए । “नागरिकलाई सेवा दिन, समस्या समाधान गर्न हरतरहले सहयोग गर्छाैंँ, पुँजीगत खर्च वृद्धि होस् । उपत्यकाको फोहरमैला व्यवस्थापनलाई बढी ध्यान दिनु जरुरी छ । स्थानीय सरकारलाई सहयोग र समर्थन गर्ने हाम्रो दायित्व हो ।” सासंद राणाले भने । उनले महानगरभित्रको पार्किङ व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने बताउँदै ‘अन्डरग्राउण्ड’ पार्किङलाई व्यवसायिक बनाइ करको दायरामा ल्याउन सुझाव दिए ।
प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले नागरिकको सन्तुष्टिको आधारमा कर सङ्कलन गर्ने र सङ्कलित करलाई प्रभावकारी रुपमा खर्च गर्न सुझाव दिए । “महानगरले ढल व्यवस्थापनलाई ध्यान दिनुपर्ने छ, ढलबाट फैलिएको फोहरले धापाखेल र वडा नं ४ को मल पोखरीमा समस्या देखिएको छ, सांस्कृतिक सम्पदा संरक्षणमा प्रभावकारी नीति आवश्यक छ, रुद्रायणी र रातो मच्छिन्द्रनाथको मन्दिर निर्माणमा ढिला भएको छ”, डा कार्कीले भने । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले नीति तथा कार्यक्रम र बजेट भौतिक पूर्वाधारमा केन्द्रीत भएकोमा खुसी व्यक्त गरे । उनले प्रदूषण न्यूनीकरणका लागि नीति तथा कार्यक्रममा समेटेर साइकलको प्रयोगलाई प्रोत्साहन गर्न सुझाव दिए ।
प्रतिनिधिसभा सदस्य रोशन कार्कीले सरकारी स्वामित्वको रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणलाई बिक्री गर्नबाट महानगरले रोक्नुपर्ने धारणा राखे । उनले सरकारी विद्यालयको स्तरोन्नति गर्न, महानगरभित्र जन्मने बच्चाको जन्मदर्तालाई सहज बनाउने नीति बनाइनुपर्नेमा जोड दिए । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले दिगो विकास लक्ष्य र सम्पदा संरक्षणमा महानगरले गरेको कामको प्रशंसा गरे । उनले अमुर्त सम्पदा र संस्कृति संरक्षणमा महानगरले निरन्तरता दिनुपर्ने सुझाव दिए ।
प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले नगरभित्रका खेतीयोग्य जमिनलाई उपयोग हुने गरी कृषि क्षेत्रमा एक वडा एक उत्पादनलाई ध्यान दिनुपर्ने धारणा राखे । प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सङ्घ, प्रदेश र स्थानीय तहले जनताको आवश्यकता पुरा हुने गरी नीति तथा कार्यक्रम लागू गर्नुपर्ने बताए । उनले ढु्ङ्गेधारा संरक्षणका लागि राजकुलोलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । महानगरप्रमुख चिरीबाबु महर्जनले सांसदहरुको सुझाव सुनिसकेपछि सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा बोलपत्र गर्ने नीति लिनु नहुने बताए । उनले यस विषयमा संसद्मा आवाज उठाएर कानुनी रुपमा लागू गर्न आग्रह गरे ।
“सङ्घीय सरकारको कमजोरीका कारण हामीलाई गाली गर्ने अवस्थाको अन्त्य गरिदिनुस्, सार्वजनिक खरिद ऐन २०६३ देश विकासको बाधक छ, यसले ठेकेदार मोटाउँछ, देशको विकास हुँदैन, यसलाई सुधार गरिदिनुस्, उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि सङ्घीय सरकारले गरेको सम्झौता बाधक छ”, उनले भने । प्राप्त सुझावका आधारमा सम्पदा, वातावरण संरक्षण र नगरविकासका सम्बन्धमा आगामी वर्षको नीति तथा योजना तय गरिने उनले बताए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले राखेको जिज्ञासाको जवाफ दिदै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्राप्त सुझावलाई समेटेर जनताको मर्म सम्बोधन हुनेगरी सहकार्य, सहअस्तित्वको आधारमा काम गर्ने प्रतिबद्धता जनाइन् । उनले खानेपानी समस्यालाई विशेष ध्यान दिएर प्राथमिकताका साथ बजेट विनियोजन गरिने जानकारी दिइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : ०६ बजे