७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आठ दिनदेखि बेपत्ता महिलाको शव फेला, श्रीमानद्वारा हत्या गरेको स्वीकार



धनुषा
२ असार । महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको बताएका छन् । रुबीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो ।

गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका थिए । रुबी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरी निरिक्षक साहले बताए ।

प्रहरीका अनुसार रुबी बेपत्ता भएको उजुरी पर्ने बित्तिकै रुबीका श्रीमान् राजनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरी निरिक्षक साहका अनुसार राजनारायणले गत शनिबार घुम्न जाने भनेर औरही सामुदायिक वनमा श्रीमतिलाई लिएर गएको र त्यहीँ हत्या गरेर जङ्गलमा लास फालेको बयान दिएका छन् ।

प्रहरीले शवपरीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्दै अभियुक्तलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरिक्षक साहले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ३ : ४६ बजे