६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’



९ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वृद्ध भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताएका छन् । आज बसेको राष्ट्रियसभाको विशेष समयमा सम्बोधन गर्दै उनीहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा जोड दिएका हुन् ।

सांसद जीतजङ्ग बस्नेतले वृद्धा भत्ता लिनलाई नागरिकता भए पुग्नेमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर झन्झटिलो प्रावधान बनाउँदा नागरिकलाई गाह्रो भइरहेको भन्दै यो व्यवस्था खारेज गर्न आग्रह गरे । उनले मुलुकभर वन अतिक्रमणका साथै वन विनाश भइरहेका जनाउँदै सरकारले वन क्षेत्रको संरक्षणका लागि आवश्यक पहल अगाडि बढाउनुपर्नेमा जोड दिए ।

सांसद गोपीबहादुर अछामीले अछाममा छाउगोठमा बसिरहेकी किशोरीमाथि भएको बलात्कारको घटनामा सरकारले गम्भीर भएर छानबिन गर्नुपर्नेमा जोड दिए । उनले घरभाडा समयानुकूल बनाउनुपर्नेलगायत ११ बुँदे माग राख्दै आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका जायज माग पूरा गर्नुपर्ने बताए । मनसुनजन्य विपद्का घटनाका पीडितलाई सरकारले समयमा नै राहत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

सांसद किरणबहादुर श्रेष्ठले मुलुकमा स्थिर सरकार बनाउने हो भने निर्वाचन प्रणाली बदल्नुपर्ने बताए । उनले नेताले इमान्दीरतापूर्वक काम गर्दा मुलुकको मुहार फेर्न सकिने भन्दै सबैले देश विकासमा एकजुट भएर इमान्दारिता पूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

सांसद तुलसाकुमारी दाहालले अछाममा छाउपडी प्रथाका कारण किशोरीमाथि भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै सरकार गम्भीर भएर छानबिन गर्नुपर्नेमा जोड दिइन् । ‘छाउका नाममा महिलालाई अछुतका रूपमा व्यवहार गर्दा आज किशोरी बलात्कृत हुनुपरेको छ, छाउगोठ हटाउन समाजमा सचेतना जगाउन जरुरी छ,’ उनले भनिन्, ‘यस्तो कु–प्रथा अन्त्य गर्न सरकारले पहल गर्नुपर्छ ।’

घरभाडा समयानुकूल बनाउनुपर्ने, आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग सम्बोधन हुनुपर्नेलगायत १ बुँदे माग राख्दै सांसद दाहालले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताइन् ।

सांसद मदनकुमारी साह गरिमाले अछाममा छाउपडीका कारण किशोरी बलात्कृत हुनुपरेको भन्दै छाउपडी प्रथा उन्मूलन हुनुपर्नेमा जोड दिइन् । सांसद विष्णुकुमारी सापकोटाले विदेशी ऋणले मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै मुलुभित्र रहेका सम्भावना पहिचान गरी स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

सांसद भुवनबहादुर सुनुवारले अछाममा छाउपडी प्रथाका नाममा किशोरी बलात्कृत भएको घटनाको घोर निन्दा गरे ।

प्रकाशित मिति : १० असार २०८१, आइतबार  १० : ५२ बजे