१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘मनसुन’ सोमबारदेखि थप सक्रिय हुने



१६ असार । देशव्यापी रूपमा फैलिएको पानी पार्ने मौसम प्रणाली ‘मनसुन’ सोमबार (असार १७) देखि थप सक्रिय हुने भएकाले होसियारी अपनाउन मौसम महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ।
आइतबार (असार १६ गते) साँझ ‘मनसुन विशेष मौसम बुलेटिन-२’ जारी गरी मौसम महाशाखाले असार २० गतेसम्म सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो।

‘विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेकाले २०८१/०३/१६ सम्म सतर्कताका लागि मिति २०८१/०३/१३ मा मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो। सो न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना भएकाले मिति २०८१/०३/२० गते बिहीबारसम्म सतर्कताका लागि आज यस विशेष बुलेटिन जारी गरिएको छ’, बुलेटिनमा भनिएको छ।

बुलेटिनअनुसार असार १७ गते सोमबारदेखि मिति असार २० गते बिहीबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक‍/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

बुलेटिनमा अगाडि भनिएको छ, ‘तसर्थ भोलि मिति २०८१/०३/१७ गते सोमबारदेखि मिति २०८१/०३/२० बिहीबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।’

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ४ : ४८ बजे