६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पशुपतिनाथ मन्दिरमा यस बर्ष भक्तजनका भीड लाग्ने



काठमाडौँ
३१ असार । यस वर्ष साउन महिनामा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा अझ बढी भीड हुने अनुमान गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा आजैदेखि चहलपहल सुरु जानकारी दिएका छन् ।
साउनका चार सोमबार, चार शनिबार, नागपञ्चमी, गुरुपूर्णिमामा बढी भीड हुने भएकाले त्यसैअनुसार तयारी गरिएको उनले बताए । साउनमा पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान तीन बजेदेखि खुला गरिने छ । कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो । साउन महिनामा आउने भक्तजनका लागि सहज होस् भनी चारै ढोका बिहान तीन बजेदेखि नै खुला गर्न लागिएको हो ।

हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनैपूर्णिमाजस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भीड हुने भएपनि साउन महिनामा भने महिनैभर भक्तजनको विशेष भीड लाग्ने गर्छ ।

पशुपति क्षेत्रमा लाग्न सक्ने भीडलाई व्यवस्थित गर्ने गरी कोषले स्वयंसेवकसमेत खटाउने जनाइएको छ । साउने मेलाका लागि दमकल, एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

साउनमा भक्तजनले सुन्दरीजलस्थित वाग्मती नदीको शुद्ध जल पशुपतिमा ल्याई चढाउने बोल बम मेलाका कारण पनि भीड हुने गरेको छ । बोल बम मेलामा नेपालका मात्र नभई भारतीय पर्यटक पनि सहभागी हुने गरेका छन् ।
पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ ।

 

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ४ : २२ बजे