३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जाउलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (तस्विरहरु)



ललितखबर

२० साउन । ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाइएकाे हाे।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतले भोटोजात्रा अवलोकन गरेका छन् । उनीहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।

हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्परा छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मंगलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । जात्रा करिब एक हजार छ सय वर्षअघि सुरु भएको विश्वास गरिन्छ ।

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पु¥याउनुपर्ने परम्परा रहको गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए ।

   

 

 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : ५९ बजे