४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभरि विद्युत् प्रसारण लाइन पुग्यो साढे ६ हजार सर्किट किलोमिटर



२९ साउन । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँ लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ ।
जलविद्युत्, सौर्य लगायत ऊर्जाका विभिन्न स्रोतबाट उत्पादित विद्युत् निश्चित स्थानसम्म पुर्‍याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्छ ।

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ सम्म ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ ६ हजार ५ सय ७ सर्किट किलोमिटर पुगेको हो ।

कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी ४ हजार १ सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५ सय १४ सर्किट किलोमिटर छ । ४०० केभी प्रसारण लाइन ६ सय ४४ सर्किट किलोमिटर छ । २०७२/७३ सम्ममा २ हजार ९ सय ११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो ।

२०७३/७४ मा ३ हजार ३ सय ६४, २०७४/७५ मा ३ हजार ५ सय ३८, २०७५/७६ मा ३ हजार ९ सय ९० र २०७६/७७ मा ४ हजार २ सय ६९ सर्किट किलोमिटर प्रसारण लाइन थियो ।

त्यस्तै २०७७/७८ मा ४ हजार ८ सय ७४, २०७८/७९ मा ५ हजार ३ सय २९ र २०७९/८० मा ५ हजार ७ सय ४२ सर्किट किलोमिटर प्रसारण लाइन थियो ।

ग्रिड सबस्टेसन क्षमता १३ हजार ५० एमभीए पुगेको छ । २०७२/७३ मा २ हजार २ सय २३ एमभीए मात्र रहेको ग्रिड सबस्टेसन क्षमता गत आवसम्म १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसन छन् ।

प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन् । प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायबाट सहुलियतपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी गरिरहेको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्ष अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताए ।

‘स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झन्झट, सडक पनि नभएका भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्था पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

‘यो अवधिमा ४००, २२० र १३२ केभीका धेरै प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ,’ घिसिङले भने, ‘१३२ केभी प्रसारण लाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल ४०० केभी र २२० केभीबाट चल्न थालेको छ ।’

घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टर भएर जाने दक्षिण करिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।

देशका प्रमुख सहरलाई ११ ‘क्लस्टर’ मा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक कार्यान्वयनमा लगिएको उनले जानकारी दिए ।

भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ ।

यता, नेपाल–भारत विद्युत आयात निर्यातका लागि आठ वर्षअघि करिब ३ सय ५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको छ ।

इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयन चरणमा छन् । साथै, नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माण सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बंगलादेशबीच विद्युत् व्यापार थप सहज बनाउन इनरुवाबाट अनारमणीसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

यसरी सन् २०३५ सम्म २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाइएको छ ।

विद्युत् आपूर्ति भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फ पनि ठूलो लगानी परिचालन गरिएको छ । ग्रिड सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्‍याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल २ लाख ९ हजार सर्किट किलोमिटर पुगेको छ ।

२०७२/७३ सम्म वितरण लाइन १ लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो । त्यतिबेला ५८ प्रतिशत विद्युतीकरण थियो भने हाल ९९ प्रतिशत पुगेको छ । कुल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन १ लाख ५० हजार सर्किट किलोमिटर रहेको छ ।

वितरणतर्फको सबस्टेसन क्षमता २ हजार ५ सय एमभीए पुगेको छ । वितरण सबस्टेसन संख्या १ सय ९६ छ । आठ वर्षअघि सबस्टेसन संख्या ८० मात्र थियो । क्षमता ६ सय ४० एमभीए मात्र थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : ४५ बजे