२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थासाङ हिउँपहिरोपछि थुनिएको बोक्सीखोला बग्न थाल्यो



म्याग्दी
१२ भदौ । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो । थासाङ–२ का वडाध्यक्षसमेत रहनुभएका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले मङ्गलबार बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको बताएका छन् ।

“मङ्गलबार साँझ ५ः४५ बजेतिर खसेको हिउँपहिरो थुप्रिएर बोक्सी खोला पूरै सुकेको थियो”, प्रवक्ता शेरचनले भने, “सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा विस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौँ ।”

खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर विस्तारै बग्न थालेको शेरचनले बताए । तटीय क्षेत्रका नौवटा घरलाई राति सुरक्षित ठाउँमा सारिएको थियो । पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका–२ का वडा सदस्य भीमप्रसाद थकालीले बताए ।

बोक्सीखोलाको मूलखर्कदेखि तल करिब एक किलोमिटरसम्म हिउँपहिरो थुप्रिएको छ । सो ठाउँमा यही भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो । हिउँ पहिरोले थुनिएको बोक्सीखोला तीन घण्टापछि बग्न थालेको थियो । यसअघिकै हिउँको थुप्रो पग्लिएर नसकिँदै पुनः पहिरो आएर हिउँ थपिएको हो ।

बोक्सीखोला कालीगण्डकीको सहायक खोला हो । तीनवटा ठाडो खोला मिसिएर बोक्सीखोला बग्ने गर्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन, वडाध्यक्ष शेरचनसहित सुरक्षाकर्मीको टोलीले हिउँपहिरो थुप्रिएको ठाउँको निरीक्षण गरेको थिए । हिउँ पहिरो थुप्रिएको ठाउँमा तलाउ छैन । हिउँ विस्तारै पग्लने भएकाले जोखिम कम हुने अनुमान गरिए पनि पूरै नपग्लिँदासम्म तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरेका थिए । पछिल्लो हिउँपहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।