उत्कृष्ट विषयबस्तु, सामान्य कथ्यशैली र थुप्रै कमजोरीकाबीच चलचित्र ‘खुस्मा’ नेपाली रजतपटमा औसत चलचित्रको रुपमा दरिएको छ ।
ललितखबर
६ असोज । बिर्सनलायक २०५२ सालबाट सुरु भएको शसस्त्र माओवादी युद्धको घटनामा आधार बनाएर निर्माण भएको चलचित्र खुस्मा असोज ३ गते संविधान दिवसको अवसर पारेर देशर प्रर्दशन सुरु भएको छ ।
रुकुम मैकोटको एक गाँउमा युवती खुस्मा बस्छिन् । उनको फुपुको घर नजिकै बाँसुरीको मिठो धुन बजाइहिड्ने जिमी छन् । खुस्मा जिमि भेट्न फुपुको घर जाने गर्छिन् ।
खुस्मालाई साथी मने मन पराउछ । भिनाजु आइते पनि हक जमाउन खोज्छ । परिवार र उनीहरुको दबाबका बीच खुस्मा र जिमीको भागी विवाह हुन्छ । विवाहसँगै गाउँमा माओवादी युद्धको प्रभाव बढ्छ । अनि उनको परिवार युद्धको भूमरीमा फस्दै गएको कथा चलचित्र खुस्माभित्र छ ।
डेव्यु निर्देशक अशोक थापामगरको निर्देशनमा निर्माण भएको चलचित्रमा गम्भिर निर्देशकीय कमजोरी भने भेटिदैन । मध्यान्तरअघि निर्देशक तथा कथाकार थापामगरले गाँउले परिवेस र मायाँप्रेमको कथा भन्न लामो समय लगाएका छन् । मध्यान्तरपछि चलचित्रको गम्भिर विषय उठान गरिएको छ । तर छोटो समयभित्र हतार हतार गम्भिर विषयको पोको खोलिएको छ ।
ट्रेलर हेरेर चलचित्र भवन पुग्ने दर्शकले भिन्न अनुभव गर्ने मौका पाउनेछन् । नयाँ पुस्तालाई चलचित्रले नछुन पनि सक्छ । इतिहासमा रुचि राख्ने नयाँ पुस्ताका लागि यो चलचित्र एउटा दस्तावेज हो । माओवादी र सरकारबीचको युद्ध देख्ने, भोग्ने र संलग्न हुनेहरुलाई चलचित्रको कथाले मन छुन्छ । चलचित्र अभिनेत्री उपसनाको वरिपरि घुमेको छ ।
चलचित्र ‘खुस्मा’ नेपाली इतिहासको एउटा कालखण्डमा घटेको दुःखद एतिहासिक घटनालाई भूईमान्छेको तहबाट देखाइएको छ ।
दुर्वल पक्ष
चलचित्रको कमजोरी कथा(स्क्रिप्ट)मा देखिन्छ । चलचित्रको मध्यान्तरअघि सुस्त गतिमा अघि बढेको छ । लामो समय मयाँप्रेम गाँउले परिवेसमा रुमल्लिएको छ । मध्यान्तरअघिसम्म चलचित्रको नयाँ कुरा केही भेटिन्न । मध्यान्तरपछि चलचित्रले गति लिन्छ । तर चलचित्र छिटो छिटो दौडाइएको छ ।
लेखक तथा निर्देशक थापामगरले चलचित्रको तार्किक र सुखद अन्त्य भने गर्न सकेका छैनन् । दुःखै दुःखबाट सुरु भएको चलचित्रमा सस्पेन्स (कौतुहल) बढाउदै सुखद अन्त्य गर्न सकिन्थ्यो । ‘खुस्मा’ २ सिक्वेल बनाउने परिस्थिती श्रृजना गर्दै चलचित्रको तार्किक रुपमा अन्त्य गर्ने साहस कथाकार थापामगरले गरेका छैनन् ।
मध्यान्तर अघिको गन्थनमन्थन छोटो र मध्यान्तरपछिको युद्धकालीन घटनालाई विस्तृत रुपमा अघि बढाएको भए चलचित्र झन् राम्रो बन्थ्यो ।
निर्देशक थापामगरले धिरज र उपासनाको रोमान्टिक प्रेम कहानी ओछ्यानमै सिमित गरेका छन् । सुन्दर हिमाल र पहाड वरपर प्रमिल जोडी देखाउनुको सट्टा अधिकाशं दृश्यहरु ओछ्यानमा उनीहरुको संवाद खिचेका छन् ।
चलचित्रमा निर्देशक थापामगरले क्यामेरा र दृश्यलाई निर्देशकले टुल्सको रुपमा मात्रै प्रयोग गरेका छन् । चर्को स्वरमा संवाद बोलिएको सुनिन्छ । धेरै कुरा दृश्य, संगीत र मौलिक आवाजबाट भन्न सकिन्थ्यो ।
सवल पक्ष
नेपाली इतिहासका घटनामा आधारित चलचित्रहरु थेरै बन्छन् । बनेका चलचित्रहरु राजा र राजनैतिक नेतृत्वहरुको बखान गरेको पाइन्छ । चलचित्र ‘खुस्मा’ नेपाली इतिहासको एउटा कालखण्डमा घटेको दुःखद एतिहासिक घटनालाई भूईमान्छेको तहबाट देखाइएको छ ।
चलचित्रको सबल पक्ष मौलिक विषयबस्तु र परिवेसलाई लिन सकिन्छ । चलचित्रमा परम्परागत भुषभुसा र रहनसहन र बोलीचालीलाई टपक्क टिपेर निर्देशक अशोक थापामगरले राखेका छन् ।
चलचित्रमा आधुनिक युगमा गाँउपाखामा जन्मेकी युवती आफ्नो मन परेको युवकलाई अंगालोमा बाँधेर ‘मेरी खुस्मा भन मनाई’ भन्दै प्रेम प्रस्ताव गर्न सक्छे भन्ने भास्य निर्देशक थापामगरले स्थापित गर्न खोजेका छन्
रुकुम मैकोट आसपासका हिमालका सुन्दर दृश्यले चलचित्रलाई स्वादिलो बनाउन सहयोग गरेको छ । यहाँका परम्परागत बस्ती, डाँडापाखा र युद्धकालीन दृश्यले दर्शकलाई ३० बर्षअघिको युग सम्झाउछ । रेडियो नेपालको समाचार र धुनले पुराना दिनहरु तजा बनाएको छ ।
चलचित्रलाई जीवन्त बनाउन ‘रुकुम मैकोट’ र ‘खुशीका फूल बटुलेर’ जस्ता सुमधुर गीतहरुले सहयोग गरेको छ । द्वन्द्वका दृश्य र खड्गबहादुर पुनमगर(खवपु)को ठट्यौली संवादले दर्शकलाई मनोरञ्जनको मसला थपेको छ ।
निर्देशक थापामगरले सान्दर्भिक विषय बस्तु उठान गर्दै युद्धको पिडा, वेपत्ताका व्यथा चलचित्रमा देखाइएका छन् । चलचित्रमा राज्यपक्ष वा विद्रोही पक्षको एकपक्षिय कथा भनिएको छैन । जुन ज्यादै राम्रो कुरा हो ।
चलचित्रले युद्धको घाउ कोट्याए पनि चोटिलो ढंगबाट प्रस्तुत गर्न भने चुकेको छ । तर चलचित्र युद्धबाट पिडा भोगेकाहरुका लागि असाध्यै सान्दर्भिक र कष्टपूर्ण जीवनको स्मरण गराउछ । चलचित्रको पात्रमा कलाकार छनौट पनि राम्रो मान्न सकिन्छ । जनजाती कथाबस्तु र परिवेसमा निर्माण गरिएको चलचित्रको धिरज, उपासना, मात्से र खवपुलगायतका पात्र उपयुक्त देखिन्छन् ।
उपासनासिंह ठकुरी (खुस्मा)
अभिनेत्री उपासना सिंह ठकुरीले ‘खुस्मा’मा अघिल्ला चलचित्रको तुलनामा राम्रो अभिनय गरेकी छिन् । अघिल्ला चलचित्रमा उनको शहरिया लवज खुस्मामा हराएको छ ।
उनले आफ्नो अभिनयलाई ठेट गाँउले परिवेशमा ढालेकी छिन् । उनको अभिनयमा एउटी निर्देाष गाँउले केटीको भाव झल्कन्छ । उपासनाले मगर युवतीको भेषभुसा र रहनसहनलाई पनि दुरुस्तै देखाउन मेहनत गरेकी छिन् । मगर युवतीको कपडा र श्रृगारमा उनी विछट्टै राम्री देखिएकी छिन् ।
धिरज मगर(जिमी)
बाँसुरी बजाएर, चौरी डुलाएर हिड्ने हिमाली गाँउ रुकुमको जिमी युवकको अभिनय धिरज मगरले राम्रो गरेका छन् । यद्यपी संवाद बोल्ने ठाँउ ठाँउमा क्यारेक्टरमा पर्फेट देखिएको छैन । उनको नृत्यशैली राम्रो छ । द्वन्द्वका दृश्यहरुमा धिरजको काम राम्रो देखिएको छ ।
माउत्से गुरुङ्ग
मगर समुदायका गाँउले पात्रमा माउत्से गुरुङ्ग चलचित्र‘खुस्मा’मा देखिएका छन् । चलचित्रमा गुरुङ्गको पुरानो संवादशैली फेरिएको छैन । उनी पुरानै अभिनय शैलीमा चलचित्र‘खुस्मा’मा प्रस्तुत भएका छन् ।
खड्ग पुनमगर ‘खवपु’
रियालिटी शो मार्फत नेपाली कला क्षेत्रमा प्रवेश गरेका कलाकार खड्ग पुनमगर खवपुलाई चलचित्रमा मसलाको रुपमा प्रयोग गरिएको छ । उनले अन्य चलचित्रको पात्र र चरित्र झैं हसाउछन् । उनले अभिनयशैली र पारा फेरेका छैनन् । कतिपय ठाँउमा उसले हसाएर गम्भिर कुरा बोलिरहेका हुन्छन् ।
प्राविधिक पक्ष
चलचित्रको टिजर र ट्रेलरका दृश्यमा रंग संयोजन मिलेको छैन । चलचित्रको प्रिमियरमा समेत फिक्का रंग रहेको चलचित्र देखाइएको थियो । यसैबाट बुझ्न सकिन्छ चलचित्रको प्राविधिक जुमिन गहतराजले रंग संयोजनमा गल्ती गरेका छन् ।
दिपक बज्राचार्यको सिनेमेट्रोग्राफी सामान्य छ । हिमालको दृश्य र पहाडको सुन्दरता पर्दामा अपेक्षित रुपमा उतारिएको छैन । सरित राईको पार्शसंगीत पनि सामान्य छ । अंकित खानको सम्पादनमा खोट लगाउने ठाँउ भेटिन्न ।
चलचित्रमा आधुनिक युगमा गाँउपाखामा जन्मेकी युवती आफ्नो मन परेको युवकलाई अंगालोमा बाँधेर ‘मेरी खुस्मा भन मनाई’ भन्दै प्रेम प्रस्ताव गर्न सक्छे भन्ने भास्य निर्देशक थापामगरले स्थापित गर्न खोजेका छन् ।
अन्तमा
कथा र प्राविधिक कमजोरीबीच चलचित्र ‘खुस्मा’ उत्कृष्ट विषयबस्तुमा निर्माण गरिएको चलचित्र हो । कथा तथा निर्देशनमार्फत अशोक थापामगरको चलचित्र ‘खुस्मा’ नेपाल मौलिक कथाव्यथा भन्ने प्रयास तारिफयोग्य छ ।
उनले उठान गरेको विषयबस्तु,घटना परिवेस, र रुकुमको बैकोट गाँउको समुदायमार्फत विश्व बजारमा हाम्रो फरक र कलात्मक सास्कृतिक चलचित्र पुगेको छ । चलचित्रको प्रस्तुती र कथा भन्ने शैलीमा परिवर्तन गर्दै गम्भिर विषयबस्तुलाई महत्व दिनु जरुरी थियो । उत्कृष्ट विषयबस्तु सामान्य कथ्यशैली र थुप्रै कमजोरीका बीच चलचित्र खुस्मा नेपाली रजतपटमा औसत चलचित्रको रुपमा दरिएको छ ।
प्रतिक्रिया