१० असोज । भारी वर्षाका कारण शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन सरकारले आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउन अनुराेध गरेकाे हाे ।
जल तथा मौसम विज्ञान विभागले आजदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेकाे भन्दै चेतावनी दिएपछि प्राधिकरणले यस्ताे अनुराेध गरेकाे हाे । त्यसैले, मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टकाे निर्णय अनुसार वर्षाको रातकाे समयमा यात्रा गर्दा पहिराे तथा बाढीकाे जाेखिमका रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा भोलि र पर्सि रात्रिकालीन बस नचलाउन सुझाव दिइएकाे हाे ।
साे अवधिभर अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न पनि प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा. डिजन भट्टराइले अनुराेध गरेका छन् । यसकासाथै, धान नकाट्न र काटिसकेकाे भए तत्काल थन्काउन र तराइ तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्न्पात नराख्न पनि अनुराेध गरिएकाे छ । यसैगरी, खाेज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवंम् स्वयंसेवकहरू तयारी अवस्थामा रहन लगायतका सूचना जारी गरिएकाे छ ।









प्रतिक्रिया