२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


अधिकांशको दशैँ खल्लो, लगानी डुबेपछि रुवाबासी



सहकारी, लघुवित्त, फाइनान्समा निक्षेप जम्मा गरेका बचतकर्ताहरुको पनि दशैँ खल्लो भयो

रुषा थापा
यसपालिको दशैँ धेरैका लागि खल्लो भयो । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरु चुलुम्मै डबेपछि दशैँ समेत मान्न सकेनन् । बाढीपहिरोले घर नै बगाएपछि धेरैले दशैँ मनाउन पाएनन् । त्यस्तै, सहकारी, लघुवित्त, फाइनान्समा निक्षेप जम्मा गरेका बचतकर्ताहरुको पनि दशैँ खल्लो भयो । उनीहरुले दशैँ मनाउन सकेनन् । उल्टै रुवाबासी भयो । गरेको लगानी डुबेपछि कसरी दशैँ मनाउनु ?
सरकारले करका निम्ति घरजग्गा खरिदबिक्री तथा जग्गा प्लाटिङ गर्न दियो । करकै लागि सेयर किनबेच गर्न दियो । र, करकै लागि गाडी आयात र बेचबिखन गर्न दियो । सरकार कर उठाउन मात्र लागिपर्दा अहिले सर्वसाधारणको लगानी बालुवामा पानी भएको छ । करोडौं सर्वसाधारणको रुवाबासी चलेको छ ।

 

पैसा हुनुञ्जेल आफन्त पनि नजिकिन्छन् अनि पैसा नभएपछि आमाबुबा पनि टाढिन्छन् । त्यस्तै, अहिले घरजग्गा, गाडी, सेयर खरिद तथा व्यापार व्यवसाय सञ्चालनमा लागि आफन्त, साथीभाइसँग ऋण लिएकाहरु तनावमा छन्

बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर अर्थमन्त्री विष्णु पौडेलको मिलेमतोमा ३१ सय पुर्याइयो । त्यति महँगोमा किनेको सेयर अहिले सय रुपैयाँमा समेत बिक्री नहुने अवस्था आएको छ । सेयरमा एक–दुई जनाको मात्र लगानी छैन । लाखौं लाख सर्वसाधारणको लगानी छ । अझ सरकारी तथ्यांकअनुसार सेयरमा ६५ लाख सर्वसाधारणको लगानी छ ।
कसैले पाँच हजार लगानी गरेका छन् त कसैले अर्ब । तर, यी लगानीकर्ता पानी समेत पिउन नपाई डुबे । सेयरमा गरेको लगानी डुब्दा कतिपय लगानीकर्ता त डिप्रेसनमै गएका छन् । उनीहरुको होश आवाज नै उडेको छ । जग्गा दलालीहरुले रोपनीको दश हजार नपर्ने खेतीयोग्य जमिन टुक्राटुक्रा बनाएर आनाकै ६०–७० लाखमा बेचिदिए ।
आज त्यो जग्गा किन्नेहरु नराम्ररी डुबेका छन् । बैंकबाट ऋण लिईलिई महँगोमा जग्गा किनेकाहरुलाई अहिले त्यो निल्नु कि ओकाल्नु भएको छ । उता, भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँका अटो शोरुमहरुले नेपाल आयात गरी एउटै गाडी पाँच लाखदेखि करोडौंमा बेचिदिए । सहकारी, लघुवित्त तथा फाइनान्सहरुले पनि करोडौं बचतकर्ताको खर्बौ रकम पचाइदिएको छ ।
यति मात्र नभई पछिल्लो समय बैंकमा समेत बचतकर्ताको रकम खाताबाटै गायब भएका थुप्रै घटना छन् । जसका कारण बैंकप्रति पनि अविश्वास बढ्दो छ । घरजग्गा, गाडी र सेयर विलासित वस्तु हुन् भनेर प्रमाणित नै भइसकेको छ । यसैले, यी क्षेत्रमा लगानी गर्नु मुर्खता हो । अहिले सुनिन्छ, चार वर्षअघि चार करोड भनिएको घर अहिले त्यसको आधा मूल्यमा समेत किन्ने मान्छे भेटिदैंन ।
घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने बैंक तथा वित्तिय संस्था र व्यक्ति दुवै डुबिसकेका छन् । किनकि यसको कृत्रिम रुपमा मूल्य बढाइएको थियो । दलालीहरुले घरजग्गा, गाडी र सेयरको मूल्य बढाएका थिए । अनि कृत्रिम रुपमा बढाइएको मूल्य कसरी धेरै समय टिक्न सक्छ ? एक न एक दिन त यो पहिलाकै मूल्यमा आउनु नै थियो ।

 

दशैँमा व्यापार हुने आशा गरेका व्यापारीहरु पनि निराशा हुनु परेको छ । उनीहरु अब व्यापार व्यवसायबाटै पलायन हुने सोचविचारमा छन्

सहकारी, लघुवित्त र फाइनान्सको पनि लगानी घरजग्गा, गाडी र सेयरमै थियो । यद्यपि, आज यी संघसंस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु भाग्नुपरेको छ । समाजमा मुख देखाएर हिँड्न सक्दैंनन्, यीनीहरु । केही वर्षअघिसम्म सहकारीको सञ्चालन हुँ भनेर गर्वका साथ भन्नेहरु अहिले एउटा कुनामा गएर लुक्नु परेको छ ।
कोट, सर्ट अनि पेन्ट लगाएर चिल्लो गाडी चढ्ने सहकारी सञ्चालकहरु अहिले मुखमा मास्क लगाएर कसैले चिन्ला कि भनेर लुकिछिपि हिँड्नु परेको छ । सहकारी डुब्नुको मूख्य कारण घरजग्गा, गाडी र सेयर नै हो । घुस र बढी नाफा कमाउने लोभमा आँखा चिम्लेर सहकारीहरुले घरजग्गा, गाडी र सेयरमा जथाभावी कर्जा प्रवाह गर्दा डुबेका हुन् ।
अब बैंकको पालो आएको छ । कहिले सासुको पालो त कहिले बुहारीको पालो भनेझैं सहकारीपछि डुब्ने पालो बैंकको आएको छ । किनकि बैंकको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । अहिले एउटा सीधा मान्छेले पनि बैंक डुबेको थाहा पाउँछ । यसैले यो पटक दशैँमा व्यापार गरेर कमाएको धेरेथोर रकम पनि व्यापारीहरुले बैंकमा राखेनन् ।
केही वर्षयता बजारमा व्यापक मन्दी छ । अब झन् यसले विकराल रुप लिने बताइन्छ । बजार सुनसान छ । दशैँमा व्यापार हुने आशा गरेका व्यापारीहरु पनि निराशा हुनु परेको छ । उनीहरु अब व्यापार व्यवसायबाटै पलायन हुने सोचविचारमा छन् । यति मात्र नभई दशैँअघि नै मालपोत, यातायात कार्यालयहरु सुनसान थियो ।
दशैँ सकिएपछि पनि घरजग्गा, गाडी र सेयर कारोबारमा बढोत्तरी नआउने बताइन्छ । मानिसहरुले नाफा हुने आशामा यो क्षेत्रमा लगानी गरेका थिए । कतिपय भने व्यापार व्यवसायतिर आकर्षित भए अनि बैंक तथा साथीभाई, आफन्तबाट ऋण लिएर लगानी गरे । तर, कसलाई के थाहा थियो र यसरी डुबिन्छ भनेर ।
घरजग्गा, गाडी, सेयर र व्यापार व्यवसायमा मानिसहरुको लगानी मात्र डुबेको छैन । लगानी डुब्दा पारिवारिक सम्बन्धमा दरार आएको छ । आफन्तहरु टाढिएका छन् । साथीभाइसँग बोलचाल बन्द भएको छ । हुन त पैसा सबथोक हो भनिन्छ । सायद हो सत्य हो । किनकि पैसाकै कारण मानिसको जीवनमा नकारात्मक र सकारात्मक दुवै प्रभाव पर्छ ।
पैसा हुनुञ्जेल आफन्त पनि नजिकिन्छन् अनि पैसा नभएपछि आमाबुबा पनि टाढिन्छन् । त्यस्तै, अहिले घरजग्गा, गाडी, सेयर खरिद तथा व्यापार व्यवसाय सञ्चालनमा लागि आफन्त, साथीभाइसँग ऋण लिएकाहरु तनावमा छन् । वर्षौदेखिको सम्बन्ध पनि अहिले ऋण तिर्न नसकेपछि टुट्न लागेको छ ।

 

यो ऋण कसरी तिर्ने भनेर प्रधानमन्त्रीसँग केही जवाफ छ त ? यता, राजस्व उठ्न छोडिसक्यो भने खर्च भने बढ्दो छ

यो सँगै पछिल्लो समय काठमाडौं उपत्यकासहित देशैभर कोठा, सटर र फ्ल्याट खाली हुने क्रम बढ्दो छ । घर खाली हुन थालेसँगै घरधनीहरु चिन्तित हुन थालेका छन् । यद्यपि, उनीहरु भाडा बटाउन भने तयार छैनन् । यो दशैँमा पनि बजार चलायमान भएन । व्यापारीहरु निराश हुनुपर्यो भने सर्वसाधारणसँग किनमेल गर्न पैसा भएन ।
यता, पैसा भएकाहरुले लुकाए । बजारमा पाँच सय र हजारको नोट कमै मात्र देखिन थालेको छ । किनकि, पैसा भएकाहरुले घरमै पैसा लुकाएका छन् । अब झन् झन् बजार खस्किन्छ र झन् झन् बजारमा मन्दी हुन्छ भनेर पनि आम नागरिकले बुझिसकेका छन् । सहकारी, लघुवित्त र फाइनान्स त भागे अब भाग्ने पालो बैंकको भनेर पनि जनताले थाहा पाइसके ।
प्रधानमन्त्री केपीशर्मा ओली भन्छन्, ‘मुलुकको अर्थतन्त्र ठिकठाक छ ।’ तर, बजारमा के भइरहेको छ भनेर उनलाई केही पनि थाहा छैन । उनी जनतालाई अल्मलाउने मात्र काम गरिरहेका छन् । नेपालको वैदेशिक ऋण २७ खर्ब पुगिसक्यो । यो ऋण कसरी तिर्ने भनेर प्रधानमन्त्रीसँग केही जवाफ छ त ? यता, राजस्व उठ्न छोडिसक्यो भने खर्च भने बढ्दो छ ।
सरकारमा बसेकाहरुलाई राजस्व कसरी उठाउने भनेर कुनै चासो छैन । चासो छ त सत्ता जोगाउने मात्र । सरकारको पछिल्लो कामप्रति जनता सन्तृष्ट छैनन् । यसले एमाले त सकियो नै तर काँग्रेस पनि सति जाने भयो । किनकि काँग्रेसले देश र जनताका लागि केही पनि काम गर्न नसक्ने व्यक्तित्वलाई प्रधानमन्त्रीजस्तो पदमा राखिदियो ।
भक्तपुर

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ६ : ३० बजे