ललितखबर
२५ असोज । राजतन्त्र नेपालबाट विदा भएको आज ठ्याक्कै १६ बर्ष भयो । नेपालमा कुनै राजाको शासन व्यवस्था छैन । न त राजाको कुनै प्रभाव र अभावको महसुस नै छ । तर चलचित्र ‘छक्का पञ्जा ५’मा एउटा स्वघोषित राजाको कथा निरन्तर बिक्रि भइरहेको छ ।
चलचित्र ‘छक्का पञ्जा’ सिक्वेलको ५ वटा श्रृखलासम्म एउटै पात्र राजाको कथा चलचित्रको पर्दामा देखाइएको छ ।
दुर्वल पक्ष
चलचित्रमा सम्बन्ध विच्छेदलाई ज्यादै हल्काफुल्का रुपमा प्रस्तुत गरिएको छ । चलचित्रको कथा सलल बगेको छैन । अदातलको बहस गम्भिर देखिन्न । अदातलमा तार्किक बहसको सट्टा हाँसीमजाक गरिएको छ । जुन सान्दर्भिक लाग्दैन ।
पात्रको चरित्र चित्रण
छक्का पञ्जाको सबै श्रृखलामा राजा पात्र हेर्न सकिन्छ । तर राजा को हो ? किन चलचित्रमा राजाको कथा चाहिएको हो ? र किन राजा पात्र चलचित्रमा देखाइएको छ भन्ने उत्तर भेट्न मुस्किल छ । पृथ्वी नारायण शाहको हनाती पृथ्वीबिक्रम कसरी राजा भन्नु पर्ने हो भन्ने तर्क चलचित्रमा देखाउने प्रयास गरिएको छ । भरिया राजाका छोरा पृथ्वीबिक्रमले आफूलाई आफैले राजा भन्दै हिडेको ठट्टा झैं लाग्छ । राजा नै नभएको देशमा एउटा सक्की केटाले आफूलाई राजा भन्दै हिडेको कुरा चलचित्रमा हेरेर पत्याइदिनु पर्ने दर्शकलाई बाध्यता छ ।
दिपकराज गिरीले हरेक श्रृखलामा आफूलाई राजा बनाएका छन् । तर राजा पात्र स्थापित गर्न बिर्सेका छन्
सिक्वेलको फरक फरक चलचित्रमा राजाको कथा र व्यथा भनिएको छ । तर एक अर्का श्रृखलामा राजाको सम्बन्ध नै छैन । एउटा यस्तो राजा जसलाई समाजले मान्दैन । आर्दश पात्र पनि होइन । जसको हर्कत एउटा गुण्डाको जस्तो छ । समाजका लागि राम्रो काम त गर्न खोजेको देखिन्छ तर पात्रको कार्यशैली पाच्य छैन ।
चलचित्रको सिक्वेल मान्नु पर्दा एक अर्काको कथा अन्तर सम्बन्ध हुनु पर्ने हो । पात्रको जीवन संर्घष र प्रेम विछोडको कथा हुनु पर्ने हो तर चलचित्रका नायक समेत रहेका दिपकराज गिरीले हरेक श्रृखलामा आफूलाई राजा बनाएका छन् । तर राजा पात्र स्थापित गर्न बिर्सेका छन् । तर अरु पात्र दिपकराजलाई राजा बनाउन सहायक देखिन्छन् । सबै राजाको भरौटे पात्र जस्ता छन् ।
चलचित्रमा आर्यन सिग्देल कलाकार बनेर चलचित्रमा देखिएका छन् । तर उनको नाटकीय अभिनयले चलचित्रलाई मनोरञ्जन हैन दर्शकलाई उल्टै उल्लू बनाएको आभास हुन्छ । चलचित्रको अन्त्य खासै अर्थपूर्ण छैन ।
राजा पात्र एकातिर कार्यालयमा नागपास खेल्दै बस्छ । चुरोट तान्छ । कर्मचारी पिट्छ भने अर्कोतर्फ भष्ट्रचारको विरोध गर्छ । त्यसैले चलचित्रमा राजा पात्रको उपयुक्त चरित्र चित्रण गरिएको छैन । केदार र राजारामले पुरानै अभिनयशैली दोहो¥याई तेह¥याई देखाएका छन् ।
कलाकार केदार घिमिरेको कपालको स्टायल र सुन्दर कोटमा राम्रो ड्रेसअप गरिएको छ । उनले ब्रेकअप गीतमा सुन्दर नृत्य गरेका छन्
‘छक्का पञ्जा ५’मा पात्रको विविधता भेटिन्न । बुबा राजा(प्रकाश घिमिेरे)को भरिया राजाको फुलेको कपाल पात्रले चलचित्रको कथा बोक्ने हैसियत राख्दैन । मुस्किलले घिसारेको छ ।
देशभक्ती र भष्टाचारको विपक्षमा चलचित्रको मुलकथा देखिए पनि चलचित्रमा अमेरिकालाई सपनाको देशको रुपमा चित्रण गरिएको छ । नेपाललाई ९५ प्रतिशत नेपाली बस्नै नचाहने देशको रुपमा चलचित्रमा प्रचार गरिएको छ । जुन सत्य होइन ।
चलचित्रमा प्रयोग भएका दुई वटा गीत दुबै विवादित भए । ‘विहे भाको छैन म, कुमारी नि हैन म’ बोलको गीतले महिलाको कुमारीत्वमाथि शंका गर्दै गीत बनाएकोमा महिलाबादीको आक्रोस पोखियो । लगत्तै अर्को गीत सामाजिक सञ्जालमार्फत प्रशारणमा आयो– ‘तपाई सपिङ गर्दिएको पैसा फिर्ता ले’ यो गीत पति उत्तिकै विवादित भयो । गीतले महिलाको आचरणलाई व्यङ्य मात्रै होइन मर्ममाथि नै प्रहार गरेको महिलाबादीहरुको दुखेसो थियो । हुन पनि समाजको ५१ प्रतिशत हिस्सा ओगटेको महिलाहरुमाथि अपमान हुने गरी गीत बनाइएको छ । जुन अत्यन्तै गलत छ । चलचित्रको ट्रेलर राम्रो नभएको प्रतिकृयालाई पनि साइवर सेनाको अभिव्यक्ती दिएर चलचित्रका कलाकारले खुलेआम प्रचार गरे । यसले धेरै दर्शक चिढाएको छ ।
सबल पक्ष
चलचित्रमा सबल पक्ष हुँदै नभएका भने होइनन् । चलचित्रले मनोरञ्जनसँगै भष्ट्राचार र अमेरिका भासिने नेपाली मनोबृत्तीमाथि प्रहार गरेको छ । नेपाल आज किन बर्वाद भइरहेको छ भन्ने सन्देस दिन चलचित्र सफल छ । निर्देशक दिपाश्री निरौलाले मनछुने समसामयिक घटनामा आधारित चलचित्रको निर्देशन गरेकी छिन् । फरक फरक लक्ष्य भएका पुरुष र महिलाबीच विवाह भए जीवन कसरी बर्वाद हुन्छ भन्ने व्यावहारिक ज्ञान पनि चलचित्र हेरेपछि पाइन्छ ।
कलाकार केदार घिमिरेको कपालको स्टायल र सुन्दर कोटमा राम्रो ड्रेसअप गरिएको छ । उनले ब्रेकअप गीतमा सुन्दर नृत्य गरेका छन् । अभिनेत्री बर्षा सिवाकोटीको भेषभुसाले पनि चलचित्रमा चरित्र चित्रणमा अव्वल भूमिका रहेको छ । उनले शिरमा लगाएको मुकुट र सिडी असाध्यै सुवाइएको छ ।
प्राविधिक पक्ष
चलचित्रको पार्श संगीत(विजिएम)ले मन खासै तान्दैन । सिनेमेट्रोग्राफर हरि हुमागाईले सामान्य लेन्स चलाएका छन् । चलचित्रका दृश्यहरु फिक्का र कतिपय ठाँउमा चम्किलो छैन । विपिन मल्लको सम्पादनमा खोट लगाउने ठाँउ छैन । कपिल पराजुलीको रंग संयोजनमा धेरै मेहनत नगरेको अनुभव हुन्छ । अच्युत गजुरेल र देवानन्द गिरीले भिएफएकमा कमाल गरेको ठाँउ भेटिन्न ।
दिपकराज गिरी
पाँचौं श्रृखलासम्म टिकेको र चलचित्रको पर्दामा बिकेको राजा पात्रमा देखिएका दिपकराज गिरी(पृथ्वी विक्रम)को अभिनयशैत्री र चरित्र चित्रण पुरानै हो । उनी पश्चिम नेपालको लवज ‘खाया हुन्, गया हुन्’ जस्ता संवाद बोल्छन् । राजा पात्रमा विविधता छैन । एउटै राजाको चरित्र मोनोटोनस(दिक्कलाग्दो) छ ।
केदारले आफ्नो अभिनयशैलीलाई निखारेका छैनन् । आफूलाई भर्सटायल अभिनेतामा रुपान्तर गर्न उनलाई मुस्किल परेको छ
केदारप्रसाद घिमिरे
छक्का पञ्जा ५ श्रृखलासम्म पनि केदारले आफूलाई माग्ने पात्रबाट माथि उठाएका छैनन् । उनले नयाँ कोट लगाएका छन् तर अभिनयशैली उस्तै थोत्रो छ । नयाँपन भेटिन्न । केदारले दलाल र भरौटे पात्रलाई चलचित्रमा बोकेर हिडेका छन् । जुन सबै श्रृखला उस्तै उस्तै दुरुस्तै लाग्छ ।
केदारले आफ्नो अभिनयशैलीलाई निखारेका छैनन् । आफूलाई भर्सटायल अभिनेतामा रुपान्तर गर्न उनलाई मुस्किल परेको छ । हरिबंश र मदनकृष्णजस्ता नेपाली कलाकारहरुले आफ्नो पात्रलाई जसरी विविधता लिएर कला क्षेत्रमा स्थापित भए केदारले सिको समेत गरेनन्् । कलाकार केदारले जीवनभर माग्ने चरित्र बेचेर भात खाइरहेका छन् । कला बिक्रि गर्न असक्षम छन् भन्ने आलोचकहरुलाई जवाफ दिन उनले सकेका छैनन् ।
बर्षा सिवाकोटी
छक्का पञ्जामा नयाँ पात्रको प्रवेश भएर पनि हुनसक्छ, अभिनेत्री बर्षा सिवाकोटी(रोसनी)ले चलचित्रमा उपल्लो स्तरको अभिनयशैली पस्केर आफूलाई राम्रो कलाकारको रुपमा चिनाएकी छिन् । उनको नृत्य, संवादशैली र भेषभुसामार्फत चलचित्रको चरित्रमा नयाँपन दिएकी छिन् ।
उनको अभिनयशैली र प्रस्तुती राम्रो छ । यद्यपी चलचित्रमा पात्रको हिसावले दमदार भूमिका छैन । एउटा निरिह पात्रका रुपमा बर्षालाई उभ्याइएको छ ।
प्रकाश घिमिरे
चलचित्रमा वुवापात्र प्रकाश घिमिरेको संवादमै समस्या छ । छक्का पञ्जाजस्तो लगभग स्थापित चलचित्रमा प्रकाशको फितलो अभिनयले ‘हिस्स बुढी फिस्त दाँत’ बनेको छ । चलचित्रको स्टारकास्टमा समस्या देखियो ।
राजाराम पौडेल
अभिनेत्री बर्षा सिवाकोटीको वाबुको भूमिकामा रहेका हास्य कलाकार राजाराम पौडेलले औसत अभिनय गरेका छन् । उनी हास्य कलाकारको परिचय दिने गरेर हसाउन समेत गरेका छैनन् । न त उनले अभिनयशैली बदलेर नौलो कला नै पस्केका छन् । चलचित्रमा उनले एउटा सामान्य वावु पात्र धानेर जागिर पकाएका छन् ।
‘छक्का पञ्जा ५’ सिक्वेलमा राजाको इन्ट्रि दमदार लाग्दैन । चलचित्रको संवाद पनि पेचिलो छैन
चलचित्रमा मेक्सम गौडेल र दिपाश्री निरौलाको भूमिका नगन्य र चर्चायोग्य छैन । निर्मल शर्मा न्यायाधिशको अभिनय नमिल्दो छ । रमेश बुढाथोकीको थेगो (ट्याक ट्याक ढ्याक) अनावश्यक र नौटंकी अभिनय लाग्छ ।
अन्तमा, गुलियो धेरै खाएपछि तीतो हुन्छ भने झैं ‘छक्का पञ्जा ५’ सिक्वेलमा राजाको इन्ट्रि दमदार लाग्दैन । चलचित्रको संवाद पनि पेचिलो छैन । कलाकार दिपक, केदार, राजाराम र निर्मल शर्माजस्ता थोरै कलाकार भएर हुनसक्छ, ओजनदार कलाकारको अभाव महसुस हुन्छ । हास्य कलाकारको बाहुल्य भए पनि खित्ला छोडेर हाँस्ने ठाँउ छैन ।
चलचित्र हेरिरहँदा रमाइलो लाग्छ तर हलबाट फर्कदा चलचित्र कस्तो थियो भन्न्े कुरा विर्सनलायक छ । पृथ्वी नारायण शाहको सालिकसंगैको दृश्य, घुस नखाने एउटा इमानदार कर्मचारी, अमेरिकाको सपनासँगै चलचित्रको कथालाई रोचक बनाउन खोजिएको छ ।
चलचित्रको अन्त्य हास्यास्पद लाग्छ । केदार र दिपाश्री निरौलाको अन्तिम दृश्यमा प्रेम प्रंसग किन चलचित्रमा जोडियो भन्ने उत्तर भेटिन्न । छेउ न टुप्पोको कथा प्रसंग मिसाएर चलचित्रको अन्त्य हुन्छ ।
चलचित्रको कथासार सरल छैन । सामान्य विषयबस्तुलाई चलचित्रका कथा लेख्दा दिपकराजले ज्यादै जटिल बनाएका छन् । मनोरञ्जनको मसला हालेर हेर्नलायक चलचित्रको निर्देशन गर्न खप्पिस दिपाश्री निरौला पाँचौं श्रृखलामा आएर चुकेकी हुन् भन्ने अनुभव गराएकी राखेकी छिन् ।
‘चलचित्र छक्का पञ्जा ५’ दिपक दिपा र केदारलगायत हास्य कलाकार मन पराउनेहरुले हेर्दा हुन्छ । मनोरञ्जन र शिक्षा लिन छक्का पञ्जा ५ चलचित्र नहेरे केही बिग्रन्न ।
प्रतिक्रिया